कावासोती - चितवन राष्ट्रिय निकुञ्जमा मङ्सिर महिनामा मात्रै दुई वटा गैँडा र एउटा बाघको मृत्यु भएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने नारायणी नदीमा ३१ वर्षको पोथी गैँडा डुबेर मरेको हो । थापाका अनुसार मङ्सिर १३ गते धुर्वे पोस्टनजिक करिब ३५ वर्षको पोथी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ।
त्यस्तै, मङ्सिर १६ गते अमलटारी सेक्टरको नन्दपुर घाटमा दुई बाघबीचको लडाइँका कारण ६ वर्षको बाघको मृत्यु भएको थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा मृत गैँडाको संख्या १२ पुगेको छ। यसैबीच, निकुञ्जले एउटा घाइते गैँडालाई उपचार गरी पुनः जंगलमा छाडेको छ।
थापाका अनुसार कात्तिक १३ पछि मात्रै गैँडाको आक्रमणबाट दुई जनाको मृत्यु र चार जना घाइते भएका छन्। अवैध गतिविधि नियन्त्रण अभियानमा निकुञ्जले ६५ जना व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाही गरेको छ। वन्यजन्तुबाट हुने क्षतिको राहतस्वरूप साउनदेखि मङ्सिरसम्म मध्यवर्ती क्षेत्रका प्रभावित स्थानीयलाई २७ लाख ८८ हजार ९९२ रुपियाँ वितरण गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले घडियाल प्रजनन केन्द्रबाट हुर्काइएका ४१ घडियाललाई प्राकृतिक बासस्थानमा छोडेको छ। पाँच वर्षभन्दा बढी उमेरका ४० पोथी र एक भाले घडियाल राप्ती नदीमा छोडिएको जनाइएको छ।
निकुञ्जले वन्यजन्तु संरक्षण र चोरीसिकारी नियन्त्रणका लागि स्थानीयसँग सहकार्य गरी योजनाबद्ध रूपमा काम गरिरहेको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार ४६१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। यो अवधिमा निकुञ्ज भ्रमणबाट १० करोड ६७ लाख १ हजार ९ सय राजस्व संकलन भएको छ।
निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको संख्या बढी भएकाले पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। नारायणी नदीमा बाढीले गैँडालाई भारततर्फ बगाउने सम्भावनाका कारण संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको थापाले बताए । गैँडा स्थानान्तरणका लागि सरोकारवालाको सहभागितामा छलफल तथा अन्तर्क्रिया गरिएको छ।