बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरू

बाँकेपछि बर्दियामा सर्वेक्षण हुने
५ पुष २०८१ (१ महिना अघि)

बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण सुरू भएको छ । करिब २ महिनासम्मको सर्वेक्षणबाट बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी लिन खोजिएको हो ।

बाँके निकुञ्ज प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले भने, ‘सर्वेक्षण भनेपछि गणनाको कुरा पनि आउँछ, वास्तविक रूपमा बाघ कति छन् र त्यसको आहारा प्रजातिको अवस्था कस्तो छ भनेर स्पष्ट हुन खोजिएको हो ।’ बाँकेपछि बर्दियामा यस्तो सर्वेक्षण हुने उनले जानकारी दिए ।

बाँके निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले निकुञ्जमा क्यामेरा ट्र्यापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण सुरू गरिएको उल्लेख गरे । उनले सर्वेक्षणबाट निकुञ्जमा रहेका बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको जानकारी हुने भएकाले त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए ।

प्रविधिको प्रयोगले बाघ र यसका आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको पंगेनीको भनाइ छ । निकुञ्जलाई चार ब्लकमा विभाजन गरी २ किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरेर काम गरिने छ ।

क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशासम्बन्धी तथ्यांकसमेत संकलन हुने छ । बाँकेमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत बाघको आहारा प्रजाति हुन् । सर्वेक्षणका लागि निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको छ।

सर्वेक्षण प्रभावकारी बनाउन बाँके निकुञ्जमा १ सय ९ स्थानमा स्वचालित क्यामेरा जडान गरिएको छ । निकुञ्जको पश्चिम क्षेत्र कोहलपुर, खडकबार, बुचापुरबाट सर्वेक्षण सुरू गरिएको छ । त्यसका लागि १६ देखि २० जना प्राविधिक कर्मचारीले ८० दिनसम्म जंगलमै बसेर काम गर्नेछन् ।

पछिल्लो समयमा बाँके र बर्दिया दुवै निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।


रासस

अन्तिम अध्यावधिक: ५ पुष २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस