विश्वव्यापी रुपमा तापक्रम बढ्दै जाँदा र मौसमको ढाँचामा अनियमितता आउँदा कीटहरूको कारण हुने बाली रोगहरूको संख्यामा वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । बाली रोगहरूको संख्यामा वृद्धि हुदा कीटनाशकको प्रयोग बढ्ने र किसानहरूका लागि स्वास्थ्य जोखिमहरू अझ गम्भीर हुन सक्ने पनि अध्ययनको रिपोर्ट रहेको छ ।
स्वास्थ्य र जलवायुको रक्षा गर्न कीटनाशकको प्रयोग घटाउनु महत्वपूर्ण आवश्यक्ता भएपनि विश्वव्यापी खाद्य सुरक्षाका विषय र नाफा–केन्द्रित कृषि अभ्यासको सन्दर्भले भने कीटनाशकको प्रयोग घटाउनु चुनौतीपूर्ण देखिएको छ । यसले कृषि उत्पादकत्वलाई वातावरणीय र सार्वजनिक स्वास्थ्य प्राथमिकतासँग सन्तुलन राख्न कीटनाशकको सुरक्षित र उपयुक्त प्रयोग कसरी गरिन सक्छ भन्ने महत्त्वपूर्ण विषयमा ध्यान केन्द्रित गराएको छ ।
अनुसन्धान टोलीले किसानहरूलाई सीमित मात्रामा कीटनाशक प्रयोग गर्न, उपयुक्त व्यक्तिगत सुरक्षात्मक कपडा वा उपकरण लगाउन र काम पछि परिवर्तन गर्न, र कीटनाशक प्रयोग गर्दा धूम्रपान वा खानेकुरा सेवन नगर्न जस्ता सुरक्षात्मक अभ्यासहरूको बारेमा अध्ययन गरेको थियो । यी अभ्यासहरूले कीटनाशकको प्रयोगसँग सम्बन्धित स्वास्थ्य जोखिमहरू कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको थियो ।
“सुरक्षात्मक कीटनाशक अभ्यासहरू अपनाउन के–के मुख्य कारकहरूले प्रभाव पार्छन् ? वास्तवमा यो नै अध्ययनको विषय रहेको थियो ।” अनुसन्धान टोलीका सदस्य प्रा. गुलाम मुस्तफाले जानकारी दिए ।
पाकिस्तानको पंजाब प्रान्तका ३ सय ८५ फलफूल र तरकारीका किसानहरूमा गरेको सर्वेक्षणमा कीटनाशकसम्बन्धी ज्ञान, कीटनाशक जोखिमबाट उत्पन्न स्वास्थ्य समस्याहरू, कीटनाशक प्रयोगप्रतिको दृष्टिकोण, र सुरक्षात्मक अभ्यासहरूको मूल्याङ्कन गर्न प्रश्नहरू सोधिएका थिए । सर्वेक्षणमा सहभागी अधिकांश किसानहरूको उमेर ३१ देखि ३५ वर्षको बीचमा थियो, १० वर्षभन्दा कम कृषि अनुभव थियो, र तिनीहरूको शिक्षा स्तर उच्च विद्यालयभन्दा कम थियो ।
प्रा. मुस्तफाले भने, “हाम्रो अध्ययनले किसानहरूको कीटनाशक सुरक्षासम्बन्धी ज्ञान, कीटनाशक प्रयोगप्रतिको दृष्टिकोण र अघिल्लो स्वास्थ्य समस्याहरूले सुरक्षात्मक अभ्यासहरू अपनाउनमा कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गरेको छ ।”
विशेष रूपमा, अनुसन्धान टोलीले किसानहरूका बीच कीटनाशक सुरक्षासम्बन्धी ज्ञान र सुरक्षात्मक व्यवहारबीचको सम्बन्धको विश्लेषण गरेको छ । तिनीहरूले किसानहरूको कीटनाशक प्रयोगप्रतिको दृष्टिकोणको भूमिका पनि जाँच गरेका थिए, जसले ज्ञानबाट आकार लिन्छ कि भनेर बुझ्न खोजेका थिए । साथै, यसले सुरक्षात्मक कीटनाशक अभ्यासहरू अपनाउन अघिल्लो स्वास्थ्य समस्याहरूको भूमिका पनि अध्ययन गरेको छ ।
प्रा. मुस्तफाले थप स्पष्ट पार्दै भने, “हाम्रो नतिजाले उच्च कीटनाशक सुरक्षासम्बन्धी ज्ञानले सुरक्षात्मक व्यवहारलाई महत्वपूर्ण रूपमा बढावा दिन्छ भन्ने देखायो । हामीले यसको कारणहरू विश्लेषण गर्याैँ र सुरक्षासम्बन्धी ज्ञानले किसानहरूको कीटनाशक प्रयोगप्रतिको दृष्टिकोणलाई प्रभाव पार्छ, जसले सुरक्षित अभ्यासहरू अपनाउन प्रोत्साहित गर्छ भन्ने तथ्य फेला पार्यौं । साथै, अघिल्लो स्वास्थ्य समस्याहरूले सुरक्षात्मक व्यवहार अपनाउन किसानहरूलाई उत्प्रेरित गर्छन् र यो प्रभाव किसानहरूसँग उच्च स्तरको कीटनाशक सुरक्षासम्बन्धी ज्ञान हुँदा अझ बढ्छ।”
अध्ययनले विकासोन्मुख र अविकसित देशहरूमा कीटनाशक सुरक्षासम्बन्धी अभ्यासहरू सुधार गर्न तत्कालका आवश्यक लक्षित प्रयासहरूलाई जोड दिएको छ । किसानहरुमा कीटनाशक जोखिमहरूको बारेमा ज्ञान वृद्धि गर्दै सुरक्षात्मक उपायहरूप्रति सकारात्मक दृष्टिकोण प्रवर्द्धन गर्ने र तिनीहरूको व्यक्तिगत स्वास्थ्य समस्याहरूको अनुभवको आधारमा नीति निर्माताहरूले सुरक्षात्मक कीटनाशक अभ्यासहरूमा महत्वपूर्ण सुधार ल्याउन सकिने पनि अध्ययनले देखाएको छ ।
कीटनाशकको गलत प्रयोगका कारण माटो र पानीको प्रदूषणजस्ता वातावरणीय प्रभाव हुने गर्दछन् । जसलाई ध्यानमा राख्दै, नीतिहरूले दिगो कीट व्यवस्थापनका अभ्यासहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव छ । कीटनाशक सुरक्षा तालिममा वातावरणीय विचारहरू समावेश गरेर कृषि गतिविधिहरूको पारिस्थितिक पदचिह्नलाई न्यूनतम गर्न अध्ययनले जरुरी ठानेको छ । यस्ता गतिविधिले नेपालजस्ता विकासोन्मुख र अविकसित देशहरूमा वातावरणीय पक्षमार्फत कृषिलाई प्रवर्द्धन गर्न सहयोग पुग्न सक्छ ।
श्रोत:
Imran, M., Mustafa, G., Rehman, S. U., & Yasri, Y. (2024). The interplay of safety knowledge, attitude and health experience in adoption of protective pesticide behavior: evidence from Pakistani fruit and vegetable farmers. Journal of Agribusiness in Developing and Emerging Economies.https://doi.org/10.1108/JADEE-05-2024-0148