अँध्यारो माछापुच्छ्रे : जलवायु परिवर्तनको डरलाग्दो संकेत

जाडोयामको चरम समयमै पनि हिमाल अँध्यारो र हिउँविहीन
१० पुष २०८१ (४ हप्ता अघि)

सुन्दर हिउँले ढाकिएको स्वरूपका लागि चिनिने प्रसिद्ध माछापुच्छ्रे हिमाल, यति बेला जलवायु परिवर्तनको डरलाग्दो प्रतीक बनेको छ। जाडोयामको चरम समयमै पनि माछापुच्छ्रे अँध्यारो र हिउँविहीन देखिन्छ। यस दृश्यमार्फत जलवायु परिवर्तनले पारेको प्रभावको व्यापकता प्रतिबिम्बित हुन्छ ।

विश्वको औसतभन्दा लगभग दोब्बर गतिमा बढिरहेको हिमालको तापक्रम यसको प्रमुख कारण बनेको छ। तातो जाडोयामका कारण हिउँको मात्रा कम भइ रहेको छ र भएको हिमनदी छिट्टै पग्लिएर माछापुच्छ्रेलाई उदाङ्गो बनाइरहेको छ। यति मात्र नभएर जलवायु परिवर्तनले परम्परागत मौसमी प्रणालीलाई विथोलिदिएको छ, जसका कारण जाडोयाममा लामो समयसम्म सुख्खा अवधि र अनियमित हिउँपातले स्थान बनाइरहेका छन् । जसले हिमालको हिउँको आवरणलाई थप कमजोर बनाएको छ।

अन्नपूर्ण क्षेत्रका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमनदीको पग्लनले न केवल हिमालको सुन्दरता घटाइरहेको छ, यसको गम्भीर परिणाम पनि हामी सामु उभ्याईदिएको छ। नाङ्गो चट्टानले बढी घाम सोस्ने गर्छ, जसले वरिपरिको तापक्रम बढाउँछ र हिउँको थप क्षय गराउँछ।  उद्योग, वन कटान र जैविक ईन्धनबाट निस्कने कार्बनको कणले हिउँको थप क्षय गराउन उल्लेख्य भूमिका खेलेको छ। यी कणले हिउँमा बसेर यसको परावर्तन क्षमता घटाउँछन् र पग्लने प्रक्रिया तीव्र बनाउँछन्, जसले हिमाललाई थप अँध्यारो बनाइरहेको छ।

हिउँविहीन माछापुच्छ्रे निरर्थक जस्तै हुन जान्छ । कम हिउँ र बरफको कारण पानीका स्रोतहरूमा प्रत्यक्ष असर पर्छ, जसले कृषिका साथै जलविद्युत उत्पादन र खानेपानी आपूर्तिमा पनि समस्या ल्याउँछ। बदलिँदो हिमरेखा (स्नोलाइन) ले संवेदनशील उच्च हिमाली पारिस्थितिक तन्त्रमा असर पुर्याउँछ, जसले चिसो वातावरणमा निर्भर प्रजातिहरूलाई उच्च र अयोग्य क्षेत्रमा धकेल्छ। पर्यटन प्रमुख आर्थिक क्षेत्र हुने नेपाल जस्ता राष्ट्रहरुलाई माछापुच्छ्रेको प्रसिद्ध सौन्दर्य हराउनु दुर्भाग्य मात्र होइन ठुलो आर्थिक क्षति पनि हो। पवित्र मानिने माछापुच्छ्रेसँग जोडिएको सांस्कृतिक र आध्यात्मिक मूल्य हराउँदा स्थानीय समुदायहरूलाई पनि ठूलो धक्का लाग्न सक्छ।

विज्ञहरूले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न तत्काल कदम चाल्नुपर्ने चेतावनी दिइरहेका छन्। हरितगृह ग्यास उत्सर्जन घटाउने, कालो कार्बन प्रदूषण नियन्त्रण गर्ने र वैज्ञानिक अनुसन्धानमा लगानी गर्ने कुराहरू अपरिहार्य रहेका छन्। हिमालय क्षेत्रका देशहरूले संयुक्त रूपमा यस क्षेत्रको पारिस्थितिक तन्त्रको संरक्षण र यस संकटबारे जनचेतना अभिवृद्धि गर्न पहल गर्नु जरुरी देखिन्छ।

माछापुच्छ्रेको हिउँले ढाकिएको अद्भुत स्वरूपबाट अँध्यारो र नाङ्गो अवस्थामा रूपान्तरण हुनु जलवायु परिवर्तनको भयानक वास्तविकता हो। तत्काल र निरन्तर प्रयास नगरे, यस किसिमका घटना सिंगो हिमालय क्षेत्रमा सामान्य बन्न सक्नेछ, जसले वातावरण र यसमा निर्भर लाखौं मानिसको जीविकामा पनि ठूलो खतरा पुर्याउने निश्चित छ।

अन्तिम अध्यावधिक: १५ पुष २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस