अमेरिकामा आएको हिमपात र हिमआँधीका कारण पाँच जनाको मृत्यु

२३ पुष २०८१ (२ हप्ता अघि)

अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ । केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो ।

मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।

अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् ।

खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा  ढिलाइ भएको खबरमा उल्लेख छ ।

मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने  अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र  भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ । 

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस