दान बहादुर बुढा, मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ ।
तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरु ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ । विशेषगरी पुष र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन् । तातोपानी नुहाउन बिशुवासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन् ।
‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ । सन्चो महसुस हुन्छ । पाँच पटकसम्म नुहाएको छु । जति नुहायो त्यतिनै निरोगी भइन्छ । यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालय लगायतका पूर्वधारमा व्यवस्था गरिएको भए राम्रो हुनेथियो,’ स्थानीय कृष्ण वोहोराले भने ।
तातोपानीमा नुहाउने स्थानको प्रचार प्रसार नभएको पनि स्थानीयको गुनासो छ । प्रचार प्रचार नहुँदा ओझेलमा परेको छ । धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोेपानी छ भन्ने नै थाहा छैन् । स्थानीय सरकारले डिपीआर भनेर आठ लाख भन्दा बढी खर्च गरिसक्यो । डिभिजन बन कार्यालयले पाँच लाख र अन्य सरकारी निकाय एवम पर्यटन बिकास समितिमार्फत लाखौं खर्च भइसकेको भएपनि प्रचार नभएको गुनासो छ ।
सोरु गाँउपालिका–९ का सर्जन बहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचार प्रसार हुनसके पर्यटक बढ्ने र रैथाने बस्तुको विक्री बढ्ने छ । तातोपानीमा बिषेशगरी बुढाबुढी ,महिला, वालवालिकाहरु बढी आउने गरेका छन् ।