पानीको स्रोतमाथिको लडाई, दलित र गैरदलितविच द्वन्द्व

खानेपानीको धारा भने जातका आधारमा फरक
७ माघ २०८१ (२ दिन अघि)

साँफेबगर, अछाम । पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै, तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन् । एउटा क्षेत्री समूदायको कुँवर जातीले प्रयोग गर्दछन् । अर्को कुवा दालित समूदायको विश्वकर्मा जातीले प्रयोग गर्दछन् । यसैगरी अर्को छेउको कुवा दलित समूदायकै आउजी अर्थात परियार जातीले प्रयोग गर्दै आएका छन् । तीनै कुवाको पानीलाई एकै ठाउँमा ट्याङ्की बनाएर दुई धारा वितरण गरेको एक वर्ष पनि नवित्दै दलित समुदायका विक र आउजीले धारामा पानी बन्द गरी कुवाबाटै पानी ओसार्न थालेका छन् ।

कथित तल्लो जाति भनिएकाले प्रयोग गर्दै आएको धारामा पानी नआए एक घण्टा टाढाको वनमा जानु पर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलको यो घटना पानीको स्रोतमाथिको लडाई स्पष्ट देख्न सकिन्छ । तीन कुवा एकै ठाउँमा छ । त्यसभन्दा माथि नांगो डाडो छ । त्यही नांगो डाडोमा वृक्षरोपण गरेको वर्ष नै डढेलोले सखाब बनायो । १५० घरधुरी रहेको वागभिडी टोलमा दुईवटा धारा बनाएपनि खानेपानी अपुग भएको छ । पानीको मुहानमा पानीको मात्रा बढाउन गरिएको वृक्षरोपणको आधा विरुवा अझै बाँचेका छन् । पुनः वृक्षरोपण गराउन पाए पानीको मुहान बढ्ने अपेक्षा स्थानीय ३८ बर्षिय जयन्द्र कुँवर बताउँछन् ।

‘नांगो डाडोलाई हरियाली बनाउन सकेमा हामीले पर्याप्त खानेपानी पुग्ने थियो,’ स्थानीय कुँवरले भने, ‘हामीलाई विरुवामात्रै दिएपनि वृक्षरोपण गरी हरियाली बनाउने थियौं ।’ उनी पानीको मुहान सुकेपछि पानीको स्रोतमाथि लडाई भएको बताउँछन् । पानीको अभावसंगै जातिय विभेद बढेको उनी स्वीकार्दछन् । पानीको लागि भएको यो संघर्ष भएको उनी बताउँछन् । यस्तो रित वर्षौदेखि चल्दै आएको छ ।

बागभिडी टोलमा कुँवर, विक र आउजी समुदायको बसोवास छ । उक्त टोलमा कुँवरहरूका लागि एउटा धारो, विक र आउजी समुदायका लागि अर्को धारो छ । धारोमा आउने पानीको मुहान एउटै भए पनि दलितहरूले कथित माथिल्लो जाति भनिएकाहरूले प्रयोग गर्ने धाराको पानी पिउन नपाउने स्थानीय ३७ बर्षीया भजन विक बताउँछिन् । कुँवर समुदायका व्यक्तिहरूले दलित समुदायका मानिसले धारा छोएमा गालीगलौज गर्ने गरेको उनले दुखेसो पोखिन ।

केही समययता दलित समुदायले प्रयोग गर्दै आएको धारामा पानी आउन छाडेको छ । पानी नआएपछि एक घण्टाभन्दा बढी समय लगाएर जंगलबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको उनले बताइन । गैरदलितको धारामा दैनिक आठ घण्टा पानी आउने गरे पनि दलित समुदायले भने पानी भर्न नपाउने स्थानीय ५० वर्षिय जोगी विकले बताए । ‘बढी भएको पानी गैरदलित समुदायको पानी ट्याङकीमा जम्मा हुन्छ । तर, हामी जंगलमा गएर ल्याउनु पर्छ,’ उनले भने, ‘दलित समुदायका व्यक्तिले धारामा पानी आएको हेर्न पाउँछन् भर्न पाउँदैनन् ।’ धारोको बाटो भएर मेलापात गोठालो जाँदाआउँदा प्यास लाग्छ, प्यास लागे पनि जातीय विभेदका कारण पानीको प्यास मेट्न पाउँदैनौं ।

दलित समुदायभित्र हुने विभेद झन चर्को रहेको भागभिडीकी स्थानीय ४० वर्षिया नैनी आउजी बताउँछिन् । दलित र गैरदलित समुदायका व्यक्तिले पानीको उपयोग गर्दै आए पनि आउजी समुदायले झनै समस्या भोग्नु परेको उनको भनाइ छ । उनले भागभिडीमा पानी भर्न नपाउँदा छिमेकी वडामा पानी भर्न जान बाध्य भएको बताइन । छिमेकी वडामा पानी भर्न जाँदा अपहेलना भोग्नु परेको उनले बताइन । छिमेकी वडामा पनि पानी पाइएन भने नदीको धमिलो पानी पिउँन बाध्य छन् ।

सार्वजनिक स्थल, धारा, पाटी, पौवा, भोज, भतेरमा समेत दलित समुदायले अपहेलित हुनुपर्ने स्थानीय दिक आउजीको भनाइ छ । उनले गैरदलित समुदायको पक्षमा थुप्रै सरकारी तथा गैरसकारी संस्थाले काम गर्दै आए पनि दलित समुदायमाथिको विभेद कायमै रहेको बताए । उनी पानीको मुहान संरक्षणमा विशेष ध्यान दिएर पानीको व्यवस्था मिलाईदिन आग्रह गर्दछन् । कोही कोहीले कुँवरको धारामा पानी लिन जाने गरेका छन् तर पानी कम हुँदा त्यहाँ पनि पानी नपाएको स्थानीय ४० वर्षिया पशुपती परियार बताईन् ।

साँफेबगर नगरपालिका–२ जाल्पादेवीका वडाअध्यक्ष कालु सिंह कुँवरले भने दलित समुदायका व्यक्तिले भने जस्तो विभेद नरहेको दाबी गरे । जाल्पादेवीमा पानीको अभाव हुँदा समस्या चाहीँ भएको उनले स्वीकारे । उनले पानीको मुहान संरक्षण गर्न आफूले सक्दो सहयोग गर्ने बताए । बागभिडीमा देखिएको खानीपानीको समस्या समाधानको लागि डिप बोरिङ्ग राख्ने पक्रिया सुरू भइसकेको पनि उनको भनाइ छ । उनले डिप बोरिङ्ग गाँडेपछि भागभिडीमा खानेपानी समस्या समाधान हुने उनले बताए । उनले मुहान संरक्षणका लागि बस्तीभन्दा माथिको नांगो डाडोलाई हरियाली बनाउन सके पानी पर्याप्त हुने विश्वास लिएका छन् ।

अन्तिम अध्यावधिक: ७ माघ २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस