चितुवाहरु आफ्ना खानपानमा निकै चयनशील हुने गर्छन् । सफा खाने कुराहरु खान रुचाउने चितुवा प्राय आफैले सिकार गरेको आहारा मात्र खाने गर्छन् । चितुवाका बारेमा यि स्थापित तथ्य पछिल्लो एक अध्ययनले गलत सावित गरिदिएको छ । अफ्रिका र पश्चिमी एसियाका केही भागमा पाइने पातलो कदको ठूलो प्रकारको चितुवाले मृत सिकारको मासु खाने गरेको तथ्य फेला परेको हो ।
अफ्रिकी बाहेकका अन्य चितुवाहरु प्राय आफूले नमारेको सिकारलाई आहारा बनाउने गर्दैनन् । तर यसै महिना इकोलोजी एन्ड इभोलुसन नामको जर्नलमा प्रकाशित अध्ययनले सन् २०१९ देखि २०२३ को बीचमा दक्षिण अफ्रिकाको विभिन्न राष्ट्रिय निकुञ्जमा चितुवाहरु मृत सिकार खाने गरेको तथ्य उजागर गरिदिएको छ ।
नेल्सन मण्डेला विश्वविद्यालयकी अनुसन्धानकर्ता तथा अध्ययनकी प्रमुख लेखक एलिजावेथ केनेडी ओभरटनले यस अध्ययनका निष्कर्षहरु निकै रोचक भएको र यसले थप अनुसन्धानको सम्भावना देखाउने बताइन् ।
वैज्ञानिकहरु चितुवाले मृत सिकार खान्न भन्ने विश्वास गर्ने गरे तापनि यसबारे निकै कम मात्र रिपोर्ट थिए । अध्ययनअनुसार मृत सिकार खाने देखिएका सबै प्रौढ चितुवाहरु रहेका थिए, जुन विभिन्न स्थानबाट स्थानानतरण गरिएका थिए ।
अध्ययनमा जम्मा तीनवटा घटनाहरु मात्र हेरिएका कारण विवादस्पद हुन सक्ने तान्जानियाकी अनुसन्धानकर्ता डेनिस मिन्जाले बताइन् । यसको अझ विश्वासिलो निष्कर्षका लागि अन्य धेरै चितुवाको व्यवहारको अध्ययन गरिनुपर्ने पनि उनको भनाइ छ । चितुवाहरु आफ्नै जातका जनावरले मारेका सिकारमा आफूलाई सहज महसुस गर्ने अध्ययनमा देखिएको पनि उनको भनाइ छ ।
यस अध्ययनले चितुवाहरुको व्यवहारको स्पष्ट प्रारुप खुलिसकेको नभएपनि अनुसन्धानकर्ताहरुलाई यस विषयमा थप अध्ययन गर्न बाटो खुलेको पनि अध्ययनमा संलग्न अनुसन्धानकर्ताको भनाइ छ ।
सन्दर्भ सामाग्री :
Overton, E. K., Davis, R. S., Prugnolle, F., Rougeron, V., Honiball, T., Sievert, O., & Venter, J. A. (2025). Carrion in bomas: Multiple observations of cheetah (Acinonyx jubatus) scavenging events and potential causes in managed populations. Ecology and Evolution, 15(1). doi:10.1002/ece3.70776
साैगात मिश्र, सञ्चार र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान तथा पत्रकारितामा संलग्न छन् ।