किन यसरी बढ्यो वायु प्रदूषण ?

२१ चैत २०८१ (२ हप्ता अघि)

काठमाडौं । वायु प्रदूषणको मात्रा विहिबार ह्वात्तै बढेका कारण मुलुकका मुख्य सहरहरुमा जनजीवन प्रभावित भयो । मुलुकभर फैलिएको वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो ।

विहिबार दिउँसो वायु प्रदूषणको मात्रा बढ्दा आँखा पोलेको सबैले महशुस गरे । उपत्यकाबासीले धुँवा र धुलो मिसिएको हावाले भिजिविलिटी कम भयो । धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भयो । विगत केही दिनदेखि नेपालको विभिन्न क्षेत्रहरुमा लागको वन डढेलोको कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको पाइएको वातावरण विभागले जनाएको छ । यस बाहेक वायु प्रदूषणको अन्य कारकहरुमा उद्योग कलकाराना र सवारी साधनबाट निष्काशन हुने धुँवा, खुल्ला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणकाईहरुबाट उड्ने धुलो आदि रहेका छन् ।

विशेषगरी चैत बैशाख र जेठ महिना डढेलो लाग्ने याम रहको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहनसक्ने सभ्भावना रहेको छ । वायु प्रदूषणले मानव सस्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वास प्रश्वास र मुटुका विरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो वेला विशेष सावधानी अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । विभागले घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र अनावश्यक रुपमा प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अपिल गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सुचकाँक अनुसार शुन्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरन्त्रण तथा न्यूनिकरण गर्न वन डढेलो लगाउने कार्य सार्वजनिक अवराध भएको हुँदा यस्तो कार्य नगर्न विभागले अनुरोध गरेको छ । यस्तै घरायसी ठोस फोहोर तथा प्लाष्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारी साधनको नियमित मर्मतसंभार गर्न, उद्योगो कलकारखाना तथा भान्सासहरुमा स्वच्छ उर्जाको प्रयोग गर्न विभागले अनुरोध गरेको छ । विभागले सडक तथा निर्माणकार्यहरुबाट उड्ने धुँवा धुलोको यथोचित नियन्त्रण गर्न सबैमा अनुरोध गरेको छ ।

स्विट्जरल्याण्डको आइक्युएआइआरका अनुसार विहिबार दिउँसो ३ बजे काठमाडौंको रविभवन क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ५४९ थियो । जसका अनुसार विहिबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो । काठमाडौं उपत्यकाको विरुवा क्षेत्रमा एक्यूआई ३८० पुग्दा भक्तपुरमा ३११ थियो । काठमाडौंसंगै हटौडामा पनि प्रदुषणको मात्रा ३८८ पुगेको थियो । सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा काठमाडौंसँगै म्यानमारको यांगुन र बंगलादेशको ढाका छन् । यांगुनको एक्यूआई १६४ र ढाकाको १५६ सम्म पुगेको थियो । भारतको मुम्बईमा मंगलबार एक्यूआई १५० सम्म पुगेको थियो ।

‘वायुमण्डलमा धुलोसँगै धुवा पनि मिसिएको देखिएको छ । धुँवा धेरै मिसिएकाले आँखा पोल्ने समस्या भएको हो,’ वातावरणविद् भुषण तुलाधरले भने, ‘काठमाडौंको हावामा यति धेरै प्रदूषण हुनुमा अहिलेको डढेलो नै मुख्य कारण हुनसक्छ ।’ पूर्वसचिव तथा मौसमविद् डा. ऋषिराम शर्माले देशका विभिन्न भागमा भएको आगलागीको असर काठमाडौंमा परेको हुन सक्ने बताए । गृह मन्त्रालयका अनुसार बुधबारमात्र देशका विभिन्न २५८ स्थानमा वन डढेलो तथा आगलागी भएको छ । ‘यो सिजन नै आगलागीको हो । अहिले काठमाडौं आसपासका क्षेत्रमा धेरै आगो लागेको छ । त्यही भएर यहाँको हावामा धेरै धुँवाको मिसिएको देखिन्छ,’ डा. शर्माले भने, ‘वायुमण्डलको माथिल्लो तह न्यानो भइराखेकाले हावा सतहको वायुमण्डलमै रहेको छ ।’

चारैतिर घेरिएको काठमाडौं उपत्यकाको भू–बनोटले इन्भर्सन लेयर बन्न सजिलो हुन्छ । ‘सामान्यतः बिहान  भएपछि सतहको हावा तात्दै जाने र माथि चिसो हुने हुन्छ,’ डा शर्माले भने, ‘तर कहिलेकाहीँ इन्भर्सन लेयर बनेर माथिको हावा न्यानै रहेपछि तलबाट हावा माथि जान सक्दैन । आज (बिहिबार) पनि त्यस्तै भएको हो ।’

कचौंरा आकारजस्तो उपत्यका भएकाले पनि काठमाडौंमा यस्तो बेला हावा बाहिर जान नसक्ने शर्माले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो तहको हावाले काठमाडौंको सतहको हावालाई लैजान सक्दैन। त्यसैले पनि यो यहीँ घुमिरहन्छ ।’ रिलिज हुन नपाएको काठमाडौंको हावामा गाडी मोटर, इँटाभट्टाको धुँवा र धुलो मिसिएकाले प्रदूषण ह्वात्तै बढेको उनले बताए । पानी परे वा बेस्सरी हावा चलेमा काठमाडौंको प्रदूषण कम हुने उनले बताए ।
विज्ञहरूले काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, कम सवारी साधन चलाउन र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।

नेपाल दक्षिण एसियामै वायु प्रदूषण मृत्युदरमा शिर्ष

दक्षिण एसियामा वायु प्रदूषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदूषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्ष्टिच्युट र इन्ष्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्वन्धी रिपोर्टले यस्तो जनाएको छ ।

जसअनुसार नेपालमा प्रति एक लाख मृत्युमा २१५ वायु प्रदूषणका कारण हुने गरेको छ । यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ २०७ एक लाख मृत्युमा २१५ वायु प्रदूषणका कारण हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ एक लाख मृत्युमा वायु प्रदूषणका कारण ११४ छ । नेपालमा वायु प्रदूषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउने सिभिल अस्पतालका मेडिकल निर्देशक एवं छाती रोग विशेषज्ञ डा. विदेश विष्ट बताउँछन् । ‘वायु प्रदूषणले धेरै अंगमा असर गर्न सक्छ । यसले विशेषगरी सिधैं फोक्सोमा असर गर्छ,’ उनले भने, ‘साना कणलाई नाकले पनि छान्न सक्दैन । त्यो कहिलेकाहीं फोक्सोमार्फत रगतमा जान्छ । यसको अहिले नै असर देखिँदैन । वर्षौंपछि भने दम र फोक्सोको क्यान्सर निम्त्याउनेछ ।’

प्रदूषणले पहिल्यैदेखि मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउने उनले बताए । ‘यस्तो प्रदूषणले मानिसमा आँखाको एलर्जी, मुटुको समस्या, चिडचिडाहट हुने समस्या देखाउँछ,’ उनले भने, ‘त्यसैले तुवाँलो लागेका बेला बाहिर निस्कनु र हिँडडुल गर्नु हुँदैन ।’ यस्तो बेला घरबाट बाहिर निस्कनै परे मास्क लगाउनुपर्ने उनी सुझाउँछन् ।

आँखा पोल्ने र श्वासै फेर्न कठिन

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ मंगलबार घरनजिकैको मेडिकलमा गए । आँखा पिरो भएको निको पार्ने औषधी किनेर फर्किए । केही दिनयता श्रेष्ठजस्तै काठमाडौंवासी धेरैले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन् । काठमाडौंमै जन्मे–हुर्केका ८५ वर्षीय श्रेष्ठले पिरो हावा यति धेरै दिनसम्म काठमाडौंमा बसेको बस्यै भएको थाहा केही वर्षयता मात्रै हो । ‘यो बेला त हावाहुरी चल्ने, असिना–चट्याङ पर्ने हुन्थ्यो । चैतको महिना रूखका पात पनि नहल्लिने यस्तो भएको मलाई याद छैन,’ उनले भने, ‘पुस–माघतिर काठमाडौंमाथि चिसो हावाको बिर्को लागेर घाम लाग्दैनथ्यो । चैतमा तुँवालो लाग्थ्यो तर यस्तो आँखा पोल्नेचाहिँ हुन्नथ्यो ।’ मध्य चैतमा वायुमण्डलमा आएको यो अप्रत्यासित र अनौठो परिवर्तन के हो, किन र कसरी भयो भन्ने चासो धैरैलाई छ ।

यसपालि चैतमा किन यस्तो भइरहेको छ भन्ने प्रश्नका धेरै कुरा प्रकृतिको रहस्यमै छन् । विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र प्रदूषणले अहिलेको अवस्था आएको बताएका छन् । हाम्रो वरिपरि यी चारै कुरा पहिला पनि थिए तर अहिले यिनको किन यस्तो गठजोड बनेको छ कि त्यसले वायुमण्डललाई हलचल हुन दिएको छैन ?  हामीलाई सास फेर्न किन गाह्रो परिरहेको छ ? अहिलेको समस्याको प्रमुख कारण यसपालिको सुख्खा हिउँद हो । अनि यो सुख्खा हिउँदमा धेरैतिर लागेको डढेलो हो । अर्थात् यसपालि हाम्रोमा पानी कम र आगो धेरै भएर यो नयाँ र घातक परिस्थिति उत्पन्न भएको हो ।

किन परेन पानी ?

नेपालमा दुईतिरबाट आउने वायुले पानी पार्छन् । असारदेखि कात्तिकसम्म बंगालको खाडीबाट मनसुनी वायु आउँछ । पूर्वबाट पश्चिमतिर फैलिन्छ। तराई र पहाडमा धेरै पानी पर्छ ।

जाडोमा जम्मु–कस्मिर हुँदै पश्चिमी वायु नेपाल पस्छ । त्यो वायुले हिमालमा हिमपात, पहाड र तराईमा वर्षा गराउँछ । प्रि–मनुसनको समयमा स्थानीय वायु पनि सक्रिय भएर निश्चित ठाउँमा पानी पर्छ । अपरान्हपछि हावाहुरी चल्ने, असिना–चट्याङ पर्ने हुन्छ । यसपालि गत अक्टोबरमा मनसुनी वायु नेपालबाट बाहिरिएको थियो । मनसुनी वायु बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव बढ्छ । तर यो हिउँदमा भने पश्चिमी वायुको त्यो प्रभाव बढेन ।

‘अक्टोबरपछि पश्चिमबाट एउटा पनि बलियो प्रणाली आएन । एक–दुई चोटी हल्काफुल्का पानी त पर्यो तर देशैभरि एकैसाथ पानी पार्न सक्ने गरी ‘मोइस्चर’ बोकेर हावा आएन,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘अहिले प्रि–मनसुन चलिरहेको छ । अझै पनि पश्चिमबाट बलियो प्रणाली आउने कुनै सम्भावना छैन ।’

महाशाखाको तथ्यांकअनुसार मंसिर १६ देखि फागुन १५ सम्म काठमाडौं उपत्यकामा औसतमा ४५ मिलिमिटरसम्म पानी पर्छ । यसपालि त्यही अवधिमा ४ मिलिमिटरमात्र पानी परेको छ । अर्थात् काठमाडौं उपत्यकामा औसतभन्दा यसपालि हिउँदमा १० प्रतिशत पनि पानी परेन । यो आफैंमा ठूलो परिवर्तन हो । मंसिर १६ देखि फागुन १५ सम्म नेपालभरिचाहिँ औसतमा ६० मिलिमिटर पानी पर्ने गरेको तथ्यांक छ । यसपालि देशभरि झन्डै १६ मिलिमिटरमात्र पानी पर्यो । नेपालमा मात्र होइन यो सुख्खाको मारमा हिन्दकुश क्षेत्र नै परेको छ । भुटानदेखि उत्तरी भारत र पाकिस्तानमा पनि यसपालि हिउँदमा कम वर्षा भएको छ ।

यसपालि हिउँद यति धेरै सुख्खा किन भयो ? यसको ठ्याक्कै कारण विज्ञहरूले पनि फेला पार्न सकेका छैनन् । ‘पोहोर साल हिउँदमा धेरै पानी परेको थियो, यसपालि पर्दै परेन । यो मौसममा वर्षेनी हुने ‘परिवर्तन’ मात्र हो कि जलवायु परिवर्तनको असरले यस्तो भयो? ठ्याक्कै भन्न सकिन्न,’ मौसमविद् कँडेलले भनिन्, ‘यसपालि हिउँदमात्रै होइन चैत–वैशाखको प्रि–मनसुन पनि सुख्खा नै हुने देखिएको छ ।’ जमिन पनि राम्ररी भिजाउन नसक्नेगरी गएको हिउँद सुख्खा हुनुको कारण के थियो भन्ने थाहा नभए पनि त्यसको असर भने पुसदेखि नै देखिन थालिसकेको थियो ।

पुस सुरू हुँदानहुँदै हिमाली जिल्ला मनाङको जंगलमा भीषण आगलागी भएको थियो। आगो निभाउन सुरक्षाकर्मी र स्थानीयलाई हप्तौं लागेको थियो । पुसमा हिमाली जिल्लामा सुरू भएको आगो लाग्ने क्रम चैत दोस्रो सातासम्म पुग्दा देशैभरि नै देखिएको छ । डढेलो विज्ञसमेत रहेका नेपाल सरकारका उपसचिव सुन्दर शर्माका अनुसार नेपालमा मंसिरदेखि जेठसम्म नै डेढेलो लाग्ने गर्छ । त्यसमा पनि मार्च र अप्रिल महिनामा अत्याधिक डढेलो लाग्छ । सबैभन्दा धेरै डढेलो अप्रिलमा लाग्छ ।

यसपालि त मार्चको तेस्रो साता नबित्दै नासाको स्याटेलाइटले नेपालको पूर्वदेखि पश्चिमसम्म आगो लागेका राताम्ये तस्बिर खिचेर पठाउन थालिसकेका थियो । स्याटेलाइटको फोटोमा भीरमा र बादलमुनि लागेको आगो भने देखिँदैन । लामो समय डढेलोको ‘प्याट्रन’ अध्ययन गरेका शर्माका अनुसार यसपालि भने अत्याधिक धेरै डढेलो लागेको छ । अहिलेसम्म मात्रै पोहोरभन्दा १४ गुणाभन्दा बढी डढेलो लागिसकेको उनले जनाए । ‘पोहोर साल मार्च ३० सम्म १ सय ८८ ठाउँमा डढेलो लागेको थियो । यसपालि २ हजार ७ सय १३ ठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले भने, ‘पोहोर ४० जिल्लामात्र प्रभावित भएका थिए भने अहिले ७३ जिल्लामा डढेलो फैलिएको छ ।’

अहिले पनि दाङ, बर्दिया, उदयपुर, सिन्धुली, बाँके, पर्सा, चितवन, सुर्खेत, धादिङ, काभ्रेलगायत मुलुकको अधिकाँश जिल्लामा डढेलो जारी छ । ‘हिउँद निकै सुख्खा भयो । वन–जंगलमा ज्वलनशील पदार्थ धेरै जम्मा भयो,’ शर्माले भने, ‘एकैचोटी धेरै ठाउँमा लागेको डढेलोले वायुमण्डलमा अत्याधिक धुँवा जम्मा भयो ।’ डढेलोबाट आएको यो धुँवा यति धेरै दिनसम्म हामीभन्दा माथि सतहमा बसिरहन सक्दैन्थ्यो । तर यसलाई सतहमै राखिरहन फेरि यसपाली ‘लोसे’ पश्चिमी वायुले भूमिका खेल्यो ।

कसरी हट्छ त प्रदुषण ?

वातावरण विज्ञ डा. अरनिको पाण्डेका अनुसार अब यो हटेर मौसम सफा हुन कि बेस्सरी हावा चल्नुपर्छ, कि ठूलो पानी पर्नुपर्छ वा चर्को घाम लाग्नुपर्छ । तत्कालै यी तीनमध्ये कुनै एउटा घटना हुने र हामीले अलिक स्वस्थ हावा फेर्न पाउने सम्भावना न्यून छ । ठूलो हावा र पानीका लागि बलियो प्रणाली छैन । चर्को घाम लाग्न वायुमण्डलमा अहिले जम्मा भइरहेको प्रदूषण हट्नु पर्छ । सतहको प्रदूषण माथि जान फेरि जमिनको सतह तात्नुपर्छ ।

‘हामीले गर्न सक्ने भनेको डढेलो कम गर्ने हो । डढेलोको मुख्य याम अझै आउनै बाँकी छ,’ डा. पाण्डेले भने, ‘पहिलो त मान्छेलाई डढेलो लगाउन निरूत्साहित गर्नुपर्छ । दोस्रो, यति धेरै ठाउँमा डढेलो लाग्दा पनि हामी केही गर्न सक्दैनौं । विदेशतिर हेलिकप्टरबाट रसायन फालेर भए पनि आगो निभाउँछन् । हामीले पनि त्यतातिर सोच्नुपर्छ ।’ योसँगै प्रदूषण कम गर्ने अरू मापदण्ड पनि अपनाउनु पर्ने उनी सुझाउँछन् ।

दुई सिजनमा वायु प्रदूषणको जोखिम

नेपालमा मुख्य गरी जाडो मौसम र हालको मौसम गरी दुई सिजनमा वायुको गुणस्तर घट्ने जोखिम हुन्छ । वायु गुणस्तर विज्ञ डा. भुपेन्द्र दासले, ‘ड्राई सिजन भनेको चैत र वैशाख हो । यो दुई महिना वायु प्रदूषणको मुख्य खतराको सिजन मानिन्छ ।’

डब्ल्यूएचओले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ‘अस्वस्थ’ मानेको छ । सो अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई ‘खतरनाक’ मानिन्छ । केही साता यता नेपालको वायु गुणस्तर २०० भन्दा बढी पुगेको डा. दासले बताए । ‘नेपालमा पछिल्लो दुईदेखि तीन साता यता वायुको गुणस्तर खस्किएको छ, करिब एक्यूआइ २०० भन्दा बढी समेत भएको छ ।’

जोगिन के गर्ने ?

वायु प्रदूषणका कारण दिन प्रतिदिन मानव स्वास्थ्यमा असर पर्दछ । यस्तो अवस्थामा सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्नुपर्ने हुन्छ । वनमा लाग्ने डढेलोमा ९० प्रतिशत मानवीय कारण रहने गरेको वन तथा भू–संरक्षण विभागले बताउँदै आएको छ । व्यक्ति स्वयंले डढेलो लाग्न नदिन सतर्कता अपनाउनुपर्छ ।

पछिल्लो समय वायु प्रदूषण बढ्नुको मुख्य कारण पत्ता लगाई त्यसलाई नियन्त्रण गर्नु पर्ने डा. दास सुझाउँछन् । ‘बर्षेनि किन डढेलो लाग्छ, सोको पहिचान गरी नियन्त्रण गर्नुपर्छ,’ उनले भने । विशेषतः काठमाडौँ उपत्यका लगायत देशभर नै वायु प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनसमेत सम्वद्ध अधिकारीहरूको सुझाव छ ।

बरीष्ठ छाती रोग विशेषज्ञ डा.नीरज बमले वातावरण प्रदूषणले शरीरका सम्पुर्ण प्रणालीहरुमा असर गर्ने बताए । उनले भने, ‘आँखा पोल्ने, छालामा क्यान्सर, छाला चिलाउने, श्वास प्रश्वास, फोक्सोका नलीहरुमा एलर्जी गराउँछ । दीर्घखालको दम गराउँछ ।’ प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्न चिकित्सकहरुले आग्रह गरेका छन् । फोक्सो तथा क्रीटिकल केयर विशेषज्ञ डा.रक्षा पाण्डेले वायु प्रदूषणले दिर्घ रोगको जोखिम निम्त्याउने बताईन् ।

अन्तिम अध्यावधिक: २१ चैत २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस