अध्ययन रिपोर्ट : वातावरणीय प्रभावका लागि उद्योगहरूमा महिला नेतृत्व महत्वपूर्ण

उनीहरूको भूमिका नवीकरणीय ऊर्जा परियोजनातर्फ लगानी मोड्न भने निकै महत्वपूर्ण हुने
२३ चैत २०८१ (२ हप्ता अघि)

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका अनुसन्धानकर्ता तथा जलवायुका सल्लाहकार सम्पादक डा. ईश्वर खत्रीद्वारा गरिएको पछिल्लो अध्ययनले ऊर्जा क्षेत्रमा रहेका कम्पनीहरूको सञ्चालक समितिमा महिलाको उपस्थिति र त्यसको प्रभावबारे विश्लेषण गरेको छ । यस अध्ययन ‘फाइनान्स रिसर्च लेटर्स’ मा प्रकाशित भएको हो । जुन कम्पनीको सञ्चालक समितिमा महिला सहभागिता बढी छ, ती कम्पनीहरूले दीर्घकालीन दिगोपनालाई प्राथमिकता दिने लगानी निर्णयहरू गर्ने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

यद्यपि महिलाको उपस्थिति सम्पूर्ण ऊर्जा क्षेत्रमा हुने कर्पोरेट लगानी वृद्धि गर्ने भन्ने ग्यारेन्टी हुँदैन, उनीहरूको भूमिका नवीकरणीय ऊर्जा परियोजनातर्फ लगानी मोड्न भने निकै महत्वपूर्ण हुने देखिएको छ । यस अध्ययनले महिलाहरू जोखिमबाट बच्न चाहने भन्ने प्रचलित मान्यतालाई चुनौती दिएको छ । बरु उनीहरूले वातावरण संरक्षणमा केन्द्रित लगानीलाई बढी समर्थन गर्ने देखिएको छ ।

विश्वका ५५ देशका सार्वजनिक रूपमा सूचीबद्ध ऊर्जा कम्पनीहरू समावेश
 

यस अनुसन्धानले सन् २००२ देखि २०२२ सम्मका ५५ देशका ५६७ सार्वजनिक रूपमा सूचीबद्ध ऊर्जा कम्पनीहरूको तथ्यांक प्रयोग गरी महिला सञ्चालकहरूको लगानी रणनीतिमा पर्ने प्रभावबारे विश्लेषण गरेको हो । कम्पनीको सञ्चालक समितिमा महिलाको संख्या धेरै हुँदा समग्र ऊर्जा क्षेत्रमा हुने लगानीमा खासै प्रभाव नपरे पनि, नवीकरणीय ऊर्जामा हुने लगानीमा भने सकारात्मक प्रभाव परेको अध्ययनले देखाएको छ । अर्थात्, जुन कम्पनीहरूले नवीकरणीय ऊर्जामा लगानी गर्छन्, ती कम्पनीहरूमा महिला सञ्चालक धेरै भएमा उक्त लगानी अझ बढ्ने सम्भावना बढी हुन्छ ।

दीर्घकालीन सोच र दिगोपनाको प्राथमिकता
 

महिला सञ्चालकहरूले निर्णय प्रक्रियामा बढी सावधानीपूर्वक र दीर्घकालीन सोच अपनाउने देखिएको छ । यद्यपि सुरुमा ठूलो लगानी आवश्यक हुने भए पनि उनीहरूले वातावरणीय र वित्तीय दुवै हिसाबले फाइदा पु¥याउने र योजनाहरूलाई प्राथमिकता दिने गरेका छन् ।

प्रभाव पार्न महिला सञ्चालकको संख्या न्यूनतम तीन हुनुपर्छ

अध्ययनमा देखिन्छ कि नवीकरणीय ऊर्जा कम्पनीहरूको सञ्चालक समितिमा यदि तीनभन्दा कम महिला सदस्य छन् भने, तिनले कम्पनीको लगानी रणनीतिमा खास प्रभाव पार्दैनन् । तर, तीन वा बढी महिला सञ्चालक भएका कम्पनीहरूले दिगो लगानी अभ्यासप्रति बलियो सक्रिएता देखाएका छन् ।
डा. खत्रीका अनुसार, “जब कुनै नवीकरणीय ऊर्जा कम्पनीको सञ्चालक समितिमा कम्तिमा तीनजना महिला निर्देशक थिए, तिनीहरूको पुँजीगत खर्च उल्लेख्य रूपमा वृद्धि भएको देखियो । यसले देखाउँछ कि केवल महिला उपस्थित हुनु मात्र पर्याप्त छैन—उनीहरूको आवाज निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने संख्या हुनुपर्छ ।”

लैङ्गिक विविधताः शासन सुधार र दिगोपनाको प्रमुख कारक
 

अघिल्ला अनुसन्धानहरूले सञ्चालक समितिमा लैङ्गिक विविधताले कर्पोरेट शासन प्रणालीलाई सुधार गर्ने देखाइसकेका छन् । महिला सञ्चालकहरूले दिगोपनातर्फ कम्पनीहरूलाई उन्मुख गराउने भूमिका पनि खेलिरहेका यस अध्ययनले देखाएको छ । साथै, वातावरणीय प्रभावको चासो बढी हुने उद्योगहरूमा महिला सञ्चालकहरू कर्पोरेट लगानी रणनीति निर्माणमा निर्णायक भूमिका खेलिरहेका छन् ।

डा. खत्री भन्छन्, “सञ्चालक समितिमा महिलाको उपस्थिति बढाउनु दिगो कर्पोरेट लगानी प्रवद्र्धनको लागि अत्यावश्यक छ ।”

हरित अभ्यासतर्फ विश्व उन्मुख भइरहेका बेला दिगो लगानी अगाडि बढाउन महिला नेतृत्व कति आवश्यक छ भन्ने कुरा यस अध्ययनबाट स्पष्ट रूपमा पुष्टि हुन्छ । वातावरणीय प्रभावका लागि आलोचित हुने उद्योगहरूमा महिलाहरूको नेतृत्व अझ महत्वपूर्ण देखिन्छ ।

 

स्रोतः

Khatri, I. (2025). From Risk Aversion to Sustainability: How Women Directors Influence Investment in the Energy Firms?. Finance Research Letters, 107213. https://doi.org/10.1016/j.frl.2025.107213

अन्तिम अध्यावधिक: २६ चैत २०८१
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस