रौतहट । रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ ।
वर्षभरी बेच्नका लागि तयार भइरहेको ईंटा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि ईंटा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।
हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो ईंटा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंटा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंटा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए ।
उनले मजदुरहरुले बनाएर राखेको ईंटाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंटा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ । प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
रौतहट ईंटा उद्योग ब्यावसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा वर्षाले थप क्षति गरेपछि निकै समस्या भएको हो ।
ईंटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंटाभट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।
सातदोबाटो, ललितपुर, बागमती प्रदेश