एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीव्र आँधीका कारण दर्जनौं मानिसले ज्यान गुमाएको अमेरिकी राज्य अर्कानसासलाई संघीय विपद् राहत कोषबाट गर्ने सहायता अस्वीकार गरेका छन् । सांसदहरूले उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
मार्च महिनामा आएको आँधी र भीषण मौसमका कारण अर्कानसास र छिमेकी राज्यहरू मिसिसिप्पी र मिसौरीमा ४ भन्दा बढी मानिसको मृत्यु भएको छ ।
विपद्को परिमाणलाई ध्यानमा राख्दै राज्यकी रिपब्लिकन गभर्नर सारा हक्काबीले आपतकालीन घोषणाअन्तर्गत संघीय राहत सहायता माग गरेकी थिइन् । तर ट्रम्प प्रशासनले उक्त अनुरोध अस्वीकार गरेको छ ।
हक्काबी र अर्कानसासका अन्य सांसदहरूले ट्रम्पलाई निर्णय पुनर्विचार गर्न सार्वजनिक रूपमा आग्रह गर्दै आएका छन् । हक्काबीले अप्रिल १८ मा औपचारिक रूपमा अपील दर्ता गराएकी थिइन् ।
गभर्नर हक्काबीले एक स्थानीय समाचार संस्थासँगको बिहीवारको अन्तर्वार्तामा बुधबार गृहमन्त्री क्रिस्टिन नोएमसँग पनि अपीलबारे छलफल गरेको बताएकी थिइन् ।
हक्काबीले यस प्रक्रिया छिटो अगाडि बढ्ने र आवश्यकता पुष्टि गर्ने थप प्रमाणहरू पनि पेश गरेको बताइन् ।
मार्चमा ट्रम्पले राज्य र स्थानीय सरकारलाई विपद् व्यवस्थापनमा बढी सक्रिय बनाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।