काठमाडौँ । आकर्षक बैजनी फूलका लागि चिनिने जकारान्डा रुख नेपालको मौलिक प्रजाति होइन । तर यो हाल काठमाडौँको शहरी परिदृश्यको एक अभिन्न हिस्सा बनेको छ।
यसको सुरुवात १९ औँ शताब्दीको अन्त्य वा २० औँ शताब्दीको सुरुमा राणा शासनकालमा भएको मानिन्छ । इतिहासकारहरूका अनुसार राणा परिवारका सदस्य सूर शमशेर राणाले वि.सं. १९७७ तिर यो रुख भारतको दार्जिलिङ आसपासका पहाडी क्षेत्रबाट काठमाडौँ ल्याएका थिए । उनले पहिलो जकारान्डा रुख दरबारमार्गस्थित हालको होटल याक एन्ड यति नजिकको आफ्नै बगैंचामा रोपेका थिए । यद्यपि जकारान्डा दक्षिण अमेरिकाकाे ब्राजिल, पारागुय, उत्तरी अर्जेन्टिना र दक्षिणी बाेलिभियालगायतका स्थानमा पाउने स्थानीय वृक्ष हाे ।
पछि राजा त्रिभुवनले पनि नारायणहिटी दरबारको दक्षिण गेट नजिक (हालको जय नेपाल हल अगाडि) अर्को जकारान्डा रोपेको भनिन्छ ।
समयसँगै जकारान्डा निजी बगैंचाबाट बाहिर सार्वजनिक स्थानहरूमा पनि फैलन थाले । वि.सं. २०२७ को दशकतिर सरकारले टुँडिखेलजस्ता सार्वजनिक स्थानहरूमा यसको वृक्षारोपण सुरु गर्यो । केही इतिहासकारहरूका अनुसार वि.सं. २०१७ मा रानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमणलाई लक्षित गर्दै शहरको सौन्दर्य बढाउन जकारान्डा व्यापक रूपमा रोपिएको थियो, यद्यपि यस विषयमा केही मतभेद भेटिने गरेका छन् ।
अचेल जकारान्डा रुखहरू दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सुन्धारा, सातदाेबाटाेजस्ता काठमाडौँका प्रमुख सडक र सार्वजनिक स्थानहरूमा देख्न सकिन्छ । हरेक वर्ष चैत्र अन्त्य देखि जेष्ठ महिनामा यी रुखहरूले शहरलाई बैजनी फूलले ढाकिदिन्छन्, जसले स्थानीयवासी र पर्यटकहरूलाई लोभ्याउँछ ।
जकारान्डाले काठमाडौँको सौन्दर्यमा योगदान दिइरहे पनि वातावरणविद्हरूले यसलाई अतिक्रमित प्रजातिका रूपमा पनि चिनाएका छन् । यसको छिटो बढ्ने र सजिलै फैलन सक्ने प्रकृतिका कारण उचित व्यवस्थापन नगरिए अन्य स्थानीय वनस्पति प्रजातिहरूलाई असर पुर्याउन सक्छ ।
जकारान्डाको दक्षिण अमेरिकाबाट काठमाडौँसम्मको यात्रा इतिहास, संस्कृति र शहरी योजनाको संयोजन हो । गैरस्थानीय भए पनि आज जकारान्डा उपत्यकाको साैन्दर्यलाई बढावा दिने एक महत्त्वपूर्ण तत्व बनेको छ ।