सामाजिक सञ्जालमा जलवायु परिवर्तनको विषयमा गलत वा भ्रामक जानकारी भएका कुराहरू निकै फैलिएका छन्।
विज्ञहरूले त्यो प्रवृत्तिलाई समस्या मानेका छन्। मानिसहरूले गलत कुरामा विश्वास गरे भने जलवायु परिवर्तन सामना गर्नका गर्नुपर्ने मुख्य काममा ढिलो हुन सक्छ।
टिकटकमा स्पेनिश भाषाको एउटा हजारौँ पटक हेरिएको एउटा भिडिओमा जलवायु परिवर्तन मानिसहरूको कल्पना भएको र त्यो अवास्तविक भएको दाबी गरिएको छ। त्यस्तो दाबी गलत हो।
सोशल मिडियामा विभिन्न भाषामा यस्ता सामग्रीहरू फैलिरहेका छन्।
तर वैज्ञानिक प्रमाणहरूले भिन्न कुरा बताउँछ।
सन् १८०० यता पृथ्वीको औसत तापक्रम १.१ डिग्री सेल्सिअसभन्दा बढीले वृद्धि भएको छ।
वैज्ञानिकहरूले त्यस्तो वृद्धिलाई निष्कर्षको रूपमा खनिज इन्धन (कोइला, तेल र ग्यास)को खपतसँग जोडेर हेरेका छन्। इन्धन बल्दा वायुमण्डलमा हरितगृह ग्यासहरू निस्किरहेका छन्।
कार्बनडाइअक्साइड वा मीथेनजस्ता ग्यासहरूले पृथ्वीको वायुमण्डलमा अतिरिक्त ऊर्जा जम्मा गर्छन् र पृथ्वीलाई तातो बनाउँछन्।
विश्वव्यापी तापमान वृद्धिका कारण अहिले नै दूरगामी प्रभावहरू देखा पर्न थालेका छन्। समुद्रहरू तातिरहेका छन् र समुद्रमा पानीको सतह बढिरहेको छ। जीव तथा वनस्पतिका विभिन्न प्रजातिहरू लुप्त हुन थालेका छन् र खाद्य आपूर्तिमा सङ्कट उत्पन्न भएको छ।
त्यसबाहेक पहिलाको भन्दा अझ भीषण बन्दै उष्णलहर र अन्य चरम मौसमी घटना देखा पर्न थालेका छन्।
"ती परिवर्तनहरू अमूर्त धारणा होइनन्," रोयल नेदरल्यान्ड्स मेट्रोलजिकल इन्स्टिट्यूटमा जलवायु वैज्ञानिकका रूपमा काम गरिरहेका मोजाब्बिकका इजिदिने पिन्तो भन्छन्।
"ती मूर्त, अवलोकन गर्न सकिने परिवर्तनहरू हुन् जसलाई जलवायु वैज्ञानिकहरूले व्यापक रूपमा अध्ययन गरेका छन् र अभिलेखमा राखेका छन्।"
फ्रेन्च भाषामा लेखिएको माथिको ट्वीटले विश्वव्यापी तापमानलाई "प्राकृतिक" प्रक्रिया बताएको छ। अनि उक्त प्रक्रियामा मानिसहरूको निकै कम वा शून्य प्रभाव हुने दाबी गरिएको छ।
यो दाबीलाई सामाजिक सञ्जालमा मानिसहरू प्रायः दोहोर्याइरहन्छन्। यसबाट मानवीय गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनबारे प्रश्न उठ्छ।
आफ्नो पक्षमा तर्क गर्न उनीहरू पृथ्वी तात्ने र चिसो हुने धेरै चक्र रहेको कुरा बताउँछन्।
ती चक्रबारे अभिलेख उपलब्ध छ। तर ती मुख्यतः प्राकृतिक कारणहरूबाट उत्प्रेरित थिए। उदाहरणका लागि, सूर्यको परिक्रमा गर्ने पृथ्वीको कक्षमा भएको परिवर्तन।
अनि वैज्ञानिकहरूले खनिज इन्धन नबालीकन अहिलेको जस्तो तापमान वृद्धिको क्रम सुरु नहुने कुरा पुष्टि गरेका छन्।
अहिले भइरहेको परिवर्तनको गति झनै उल्लेख्य छ।
पछिल्लो पटक पृथ्वीको औसत विश्वव्यापी तापमानमा उल्लेख्य परिवर्तन आउँदा त्यो कैयौँ हजार वर्षमा ५ डिग्री सेल्सिअसले वृद्धि भएको थियो।
तर हालको तापमान वृद्धिदर उल्लेख्य रूपमा त्योभन्दा निकै द्रुत छ। डेढ सय वर्ष वा त्योभन्दा कम अवधिमा पृथ्वी १.१ डिग्री सेल्सिअसले तातिसकेको छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनको विद्यमान गति हेर्दा तापमान यो शताब्दीको अन्त्यसम्ममा २.५ डिग्री सेल्सिअसले बढ्न सक्ने बताएका छन्।
एक नाइजिरियाली प्रयोगकर्ताले यसअघि ट्विटर भनिने सामाजिक सञ्जाल एक्समा जलवायु परिवर्तन अफ्रिकाको समस्या नभएको तर्क गरेका थिए।
विकासोन्मुख देशहरूमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यस्तै धारणा राख्छन्। उनीहरू कहिलेकाहीँ जलवायु परिवर्तनलाई "पश्चिमी समस्या" को रूपमा हेर्छन् र आफ्नो दैनिक जीवनमा कम महत्त्व रहेको ठान्छन्।
केही अरू जलवायुसम्बन्धी काम धनी देशहरूले उदीयमान अर्थतन्त्रहरूलाई अगाडि बढ्न रोक्नका लागि गरेको "षड्यन्त्र" भन्ठान्छन्।
अमेरिका, यूके, चीन वा ईयूजस्ता धनी देशहरू हरितगृह ग्यासहरूको ऐतिहासिक उत्सर्जनका लागि जिम्मेवार छन् जसले विश्वव्यापी तापमान वृद्धिलाई बढाइरहेका छन्। तर जलवायु परिवर्तनको कुनै सीमा छैन र यसको नतिजाहरू पहिले नै विश्वभरि महसुस भइरहेको छ।
खासगरी पर्याप्त तयारी गर्न स्रोतहरूको अभाव रहेको कम आय भएका देशहरूमा त्यसको असर देखिन्छ।
पछिल्ला केही महिनाहरूमा मात्रै मध्यपूर्वका केही क्षेत्र - सिरिया, इराक, इरान - खडेरीको चपेटामा परेका छन् भने पूर्वी अफ्रिका - केन्या, इथियोपिया, सोमालिया - घातक बाढीको चपेटामा परेका छन्।
"जलवायु परिवर्तन विश्वव्यापी समस्या भईकन पनि यसका असमान असरहरू हुन्छन्," अमेरिकाको सिर्कुज यूनिभर्सिटीकी फरहाना सुल्ताना भन्छिन्।
"यसले असमान रूपमा विकासोन्मुख देशहरूमा अग्रमोर्चामा रहेका समुदायहरूलाई असर गर्छ जसको समस्या सिर्जना गर्न निकै कम भूमिका हुन्छ।"
यसले गर्दा केही जलवायु अभियानकर्मीहरूले धनी देशहरूलाई जलवायु (परिवर्तनका असर न्यूनीकरण)का लागि आर्थिक पहलको नेतृत्व लिन र पहिले नै भएका क्षति (अनुकूलन) लाई सामना गर्न सघाउन धनी देशहरूलाई कारबाही गर्न आह्वान गरेका छन्।
"प्रत्येक देशले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न बढीभन्दा बढी उत्सर्जन गर्नेहरूका साथ आफ्नो क्षमता अनुसारको न्यूनीकरण र अनुकूलन दुवैलाई सक्रिय रूपमा काम गर्न आवश्यक छ," सुल्ताना भन्छिन्।
पोर्चुगिजमा लेखिएको यो पोस्टमा जलवायु परिवर्तन भइरहेका बेला पनि समुद्री सतह "समान" मिथ्या दाबी गरिएको छ।
यस्तै दाबीहरू प्राय: तटीय क्षेत्रहरूका तस्बिरसँगै पोस्ट हुन्छन्। समुद्री सतहको वृद्धि वास्तवमा नाङ्गो आँखाले देख्न सकिँदैन भन्ने तर्कलाई पुष्टि गर्न त्यसो गरिन्छ।
पृथ्वी तातो हुँदै जाँदा हिमनदीहरूमा र जमिनमा जमेको बरफ पग्लिन थालेको छ र समुद्रमा पानीको कुल मात्रा बढ्दै छ।
यसबाहेक पानीको तापक्रम बढ्दै जाँदा त्यसको आयतन पनि बढ्छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार महासागरहरूले पृथ्वीमा भएको तापक्रम वृद्धिको ९० प्रतिशत ताप सोसिसकेका छन्। त्यसैले तापक्रम बढेसँगै महासागरहरूमा पनि विस्तार भएको छ।
विश्वव्यापी रूपमा समुद्री सतह झन्डै १०० वर्षमा १६० देखि २१० मिलिमिटरले बढेको अनुमान छ।
यो प्रक्रियाले गति लिइरहेको छ र यसको प्रभाव देखिन थालिसकेको छ: उच्च समुद्र क्षेत्रको तटीय कटान तीव्र भएको छ र बाढीको जोखिम बढेको छ।
वैज्ञानिकहरूका अनुसार तत्काल कदम नचालिएमा सन् २१०० को अन्त्यसम्ममा समुद्रको सतह दुई मिटरले बढ्न सक्छ।
यसको अर्थ हाल तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूले छिट्टै आफ्नो थलोमा बाढीमा आएको वा समुद्रको पानीले ढालेको देख्न सक्छन्।
"यस अवस्था धेरैजसो पश्चिम अफ्रिकी तटीय समुदायहरूमा स्पष्ट देखिन्छ छ," जलवायु परिवर्तनका कारण चरम रूपमा समुद्री सतह बढेकोबारे अनुसन्धान गरिरहेकी अयोला अपोलोआ भन्छन्।
उनी दक्षिण-पश्चिम नाइजिरियामा रहेको इलाजेको उदाहरण दिन्छन्। केही विवरणका अनुसार त्यहाँ समुद्री सतह वृद्धिको असरका रूपमा "आधाभन्दा धेरै जनसङ्ख्या विस्थापित" भएको छ।
निरन्तर चिसो मौसम हुने देशहरूमा पृथ्वी न्यानो हुने कुरा झट्ट सुन्दा प्रिय लाग्न सक्छ।
फेसबुकमा एक रुसी प्रयोगकर्ताले लेखेअनुसार - उदाहरणका लागि - शरद् ऋतुको तातो मौसम विश्वव्यापी तापमान वृद्धिको सकारात्मक परिणाम हो।
समस्या के हो भने जलवायु परिवर्तनबाट हुने ससाना लाभहरू सम्पूर्ण ग्रहमा त्यसले पार्ने व्यापक असरको तुलनामा एउटा अंश मात्र हो।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार यस शताब्दीको अन्त्यसम्ममा यदि औसत विश्वव्यापी तापमान १.५ डिग्री सेल्सिअसले बढ्यो भने विश्वले जलवायु परिवर्तन ५४० खर्ब अमेरिकी डलर बराबरको मूल्य चुकाउनुपर्छ।
ती परिवर्तनका प्रभाव व्यापक हुने छन्।
मध्यपूर्वी देशहरूमा कृषियोग्य भूमि मरुभूमिमा परिणत भएको देख्न सकिन्छ। प्रशान्त महासागरमा रहेका टापु राष्ट्रहरू बढ्दो समुद्रमुनि पुरिन सक्छन् भने अफ्रिकी देशहरूमा खाद्यान्न अभाव हुन सक्छ।
अनि रुसजस्ता चिसो मौसम हुने देशहरूमा समेत मौसम तातो र सुक्खा हुँदै जाँदा जङ्गलमा आगलागी बढ्दै गएको छ।
"सत्य के हो भने हामीले संसारभरि धेरै चरम घटनाहरू देखेका छौं," द नेदरल्यान्ड्सस्थित यूनिभर्सिटी अफ ट्वान्टामा प्राध्यापन गर्ने प्राध्यापक ट्राङ डोङ भन्छिन्।
"जुलाई २०२३ मा उत्तर अमेरिका, युरोप र चीनमा उष्णलहर आयो। बाढीहरू पनि विश्वभरि बारम्बार र तीव्रताका साथ आइरहेका छन्। यी सबै प्रकोपहरूले दुर्भाग्यपूर्ण रूपमा मानव जीवनको विनाश र आर्थिक क्षतिको निम्त्याउँछ।"