म बालबालिकाको क्षेत्रमा चासो राख्ने विद्यार्थी हुँ । आज म नेपालको वर्तमान सन्दर्भमा बालबालिकामा जलवायु परिवर्तनको प्रभाव र भविष्यको चिन्ताका बारे यो पत्र लेख्दैछु । जलवायु परिवर्तनका कारण नेपालमा विभिन्न प्रकृतिक प्रकोपहरु जस्तै बाढी, पहिरो, खडेरी, भारी वर्षा र तापमानको वृद्धिले बालबालिकाको स्वास्थ्य, शिक्षा र जीवनशैलीमा गम्भीर असर परिरहेको छ।
नेपालको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय अध्ययनको अनुसार तापमान वार्षिक रुपमा ०.०५ देखि ०.०८ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ भने खडेरी, भारि वर्षा जस्ता प्रकोपहरु बढ्दै गइरहेको छ। जसले गर्दा हिउँदे र मनसुनी वर्षा दुबैमा असामान्य परिवर्तन देखा परेको छ । उदाहरण का लागि उच्च तापक्रमका कारण तराईका कतिपय विद्यार्थीहरू विद्यालयमै बेहोस भइरहेका छन् । जस्तै मेरै विद्यालयमा पनि प्राथना गर्ने समयमा (१० बजे) पनि विद्यार्थीहरू बेहोस हुने समस्या देखा परिरहेको छ । साथै यहि वर्ष वर्खाको समयमा पनि सुदूरपश्चिमको महेन्द्रनगरमा आएको अविरल वर्षाका कारण थुप्रै विद्यालयहरु बन्द रहनुका साथै - बालबालिकाहरुलाई असहजता र अप्ठ्यारोको सामना गर्नु परेको थियो।
त्यसैगरी दुई वर्षयता धनगढी उपमहानगरपालिका र यस नजिकका पालिकाहरुले अत्याधिक गर्मीका कारण तिन-चार दिनसम्म विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । जसकारण विद्यार्थीहरूको पठनपाठनमा निकै नै चुनौतिहरु भइरहेका छन् । जस्तैः आफ्नो पढाइबाट वञ्चित रहनुपर्ने र समयमा पाठ्यक्रम पूरा नहुने समस्या र पहाडबाट पढाइका लागि तराई झरेका बालबालिका जो कोठा भाडामा लिएर बसेकालाई यसरी अचानक विद्यालय बन्द हुँदा साह्रै अप्ठ्यारो अवस्था सिर्जना हुन्छ ।
यस समस्याको समाधानका लागि सरकार, युवासमुह र सम्बन्धित निकायहरु साथसाथै युनिसेफ जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरु , र सम्बन्धित निकायहरुको सक्रिय भुमिका महत्वपूर्ण हुन का साथै बालबालिकाले आफुले भोगेका समस्याहरु समाधान गर्नका लागी सम्बन्धित निकायसम्म प्रस्तूत गर्न सक्नुपर्छ। आउॅदै गरेको विश्व बालदिवसको अवसरमा बालबालिकामा आएका समस्या समाधान गर्नका लागि अझै मिहेनत गर्नु पर्ने देखिन्छ।
हामी र हाम्रो भविष्यका कर्णधार बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न सबै तहबाट साझा प्रयास गरिनु पर्छ भन्ने कुराको म अनुरोध गर्न चाहन्छु।
- मात्रीका प्रसाद उपाध्याय