विश्व बाल दिवसका अवसरमा जलवायुसम्बन्धी क्रियाकलापको आव्हान

४ पुष २०८१ (१ महिना अघि)

काठमाडौँ – नेपालका बालबालिका तथा युवाहरुमा जलवायु परिवर्तनको प्रभाव सहित दीगो भविष्य सुनिश्चित गर्ने काममा उनीहरूलाई साथ दिन वयस्कहरूमा गरेको आह्वान समेटिएको ‘भविष्यलाई सुनौँ : नेपालका बालबालिका र युवाद्वारा जलवायुसम्बन्धी क्रियाकलापको आव्हान’ शीर्षकको प्रतिवेदन आज माननीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई हस्तान्तरण गरिएको छ ।

विश्व बाल दिवसका अवसरमा आयोजित एक समारोहमा कर्णाली प्रदेशकी ११ वर्षीय अनुष्का रावल, बागमती प्रदेशकी १३ वर्षीय श्रेया थापा, सुदूरपश्चिम प्रदेशका १६ वर्षीय मात्रिका प्रसाद यादव, लुम्बिनी प्रदेशका १८ वर्षीय राम सुनारी मगर र मधेश प्रदेशकी २१ वर्षीय पिङ्की कुमारी शर्माले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । बालअधिकार महासन्धि पारित भएको वार्षिकोत्सव पारेर प्रत्येक वर्ष नोभेम्बर २० का दिन मनाइने विश्व बाल दिवस युनिसेफको बालबालिका लक्षित विश्वव्यापी कार्यक्रम हो । यस वर्ष युनिसेफले विश्वलाई भविष्यको आवाज सुन्न आह्वान गरिरहेको छ । युनिसेफले विश्वव्यापी चुनौती र व्यक्तिगत सपनाहरू दुवैका सन्दर्भमा अन्तरपुस्ता सम्वादहरूलाई बढावा दिँदै बालबालिकालाई उनीहरूका दृष्टिकोण र चाहनाहरूबारे छलफल गर्न आह्वान गरेको हो ।

कार्यक्रममा र राष्ट्रिय योजना आयोगका माननिय उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीलाई नेपालका लागि फ्रान्सका राजदूत महामहिम भर्जिनी कोर्टवल; नेपालका लागि नर्वेका महामहिम राजदुत तोरुन ड्रामडाल; युरोपेली संघको नेपाल सहयोग प्रमुख जोसे लुइस भिनुएसा-सान्तामारिया; बेलायती दूतावासका शिक्षा सल्लाहाकार शिवानी मिश्र; नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गा; साथसाथै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र खानेपानी मन्त्रालयका प्रतिनिधिहरू; बालबालिका र युवाहरू र पत्रकारहरूको सहभागिता थियो ।

यस प्रतिवेदन युनिसेफले प्रदेश स्तरमा समेत गरी नेपालभरका ४०० भन्दा बढी बालबालिका तथा युवाहरूसँग एक वर्ष लगाएर गरेको परामर्श र अन्तरक्रियाको परिणाम हो । यसका साथै, युवाहरूको स्थानीय सम्मेलन (Local Conference of Youth/LCOY) र नेपाल सरकार, युवा सञ्जाल र अन्य विकास साझेदारहरूसँगको समन्वय र युनिसेफको सहयोगमा सम्पन्न बहुपक्षीय सरोकारवालाहरूसँगको परामर्शका क्रममा साझा गरिएका सुझाव र सिफारिसहरू पनि प्रतिवेदनमा समावेश गरिएका छन् । नेपालले जलवायु परिवर्तन सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्तुत गर्ने तेस्रो चरणको राष्ट्रियरूपमा निर्धारित योगदान (Nationally Determined Contributions/NDCs 3.0) का साथै अन्य महत्त्वपूर्ण जलवायुसम्बन्धी कार्यक्रम र नीतिहरूलाई अन्तिम रुप दिने तयारी गरिरहेको महत्त्वपूर्ण समयमा यस प्रतिवेदन आएको छ ।

माननीय मन्त्री ठकुरीले जलवायुसम्बन्धी निर्णय प्रक्रियामा बालबालिका र युवाहरूका दृष्टिकोणको महत्त्वमाथि प्रकाश पारे । “नेपालले NDC 3.0 सहित आफ्ना आगामी जलवायुसम्बन्धी प्रतिवद्धताहरूलाई अन्तिम रूप दिइरहेको सन्दर्भमा यस प्रतिवेदनले निर्णय प्रक्रियाको केन्द्रमा बालबालिका र युवाहरूलाई राख्‍न र उनीहरूको आवाजले हाम्रो जलवायु प्रतिरोधी भविष्यलाई आकार दिन्छ भन्ने कुरा सुनिश्चित गर्नुपर्ने स्मरण गराउँछ,” उनले भने ।

जलवायु परिवर्तनले कसरी बालबालिका र युवाहरूलाई प्रभाव परिरहेको छ भन्नेबारे जानकारी दिनुका साथै यस प्रतिवेदनले वयस्कहरूलाई निश्चित क्रियाकलापहरू गर्न आह्वान गर्छ । उदाहरणका लागि, जलवायुसम्बन्धी क्रियाकलापमा सहभागी हुन र परिवर्तनको संवाहक हुन बालबालिका र युवाहरूको क्षमता अभिवद्धि गर्न; स्वास्थ्य र पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा र सुरक्षा जस्ता सामाजिक सेवाहरूमा लगानी गरी जलवायु प्रतिरोधी समुदायहरूको सृजना गर्न; जलवायुसँग सम्बन्धित प्राकृतिक विपदहरूको परिणामस्वरूप पर्ने मनोवैज्ञानिक तथा सामाजिक प्रभावहरू समेतका जलवायु परिवर्तनसम्बन्धी नीति तथा योजनाहरूमा बालबालिका र युवाहरूमा जलवायुका प्रभावहरू सम्बोधन गर्न उपयुक्त व्यवस्थाहरू मिलाउन बालबालिका र युवाहरूले आह्वान गरेका छन् ।

युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले बालबालिका र युवाहरूको दृष्टिकोण र नेतृत्वको प्रशंसा गरिन् । “बालबालिका र युवाहरूको ऊर्जा, विचार र अठोटले हामी सबैलाई उत्साहित बनाउँछ,” अकुङ्गाले भनिन्, “उहाँहरूको कुरा आज सुन्दा त्यसले जलवायु परिवर्तनबाट रूपमा सबैभन्दा बढी प्रभावित हुनेहरूका वास्तविकतामा आधारित समावेशी, मजबुत एवम् गहन जलवायुसम्बन्धी कार्यक्रमहरूको जग निर्माण गर्नेछ ।”

लाखौँ बालबालिकाका लागि जलवायु जोखिम कम गर्न प्रतिरोधी सामाजिक सेवाहरूमा लगानी गर्न तत्काल आवश्यक रहेको कुरामा उनले जोड दिइन् ।

“जलवायुसम्बन्धी नीति र योजनाहरूमा बालबालिका र युवाहरूको आवाजलाई समावेश गर्दै बालबालिका र युवाहरूले भर पर्ने सामाजिक सेवाहरूको प्रतिरोधी क्षमतालाई प्राथमिकतामा राख्‍नु कुनै पनि सरकारले गर्न सक्‍ने सबैभन्दा उत्तम लगानी हो,” अकुङ्गाले भनिन् ।

युनिसेफको अनुमानअनुसार जलवायुसम्बन्धी अनुकूलनमा आज लगानी गरिएको प्रत्येक १ अमेरिकी डलरले भोलि १० अमेरिकी डलर बराबरको आर्थिक फाइदा उत्पन्न गर्नेछ ।

कार्यक्रममा बालबालिका र वयस्कहरूले ‘दीगो भविष्य’ शीर्षकको दृष्टिकोणयुक्त कला सहसृजना गरेका थिए । रचनात्मक सत्रपछि सहभागीहरूले नेपालका बालबालिकाका लागि दीगो भविष्य निर्माणमा सहयोग गर्न आफूले गर्न सक्‍ने प्रमुख क्रियाकलापलाई उजागर गर्दै आफ्ना कलाहरू प्रस्तुत गरेका थिए ।

“बालबालिकाले हाम्रो भविष्यको प्रतिनिधित्व गर्छन्,” मधेश प्रदेशकी २१ वर्षीय पिङ्की कुमारी शर्माले भनिन्, “जसरी हामी भविष्यको पुस्ताले फल खाऊन् भन्ने सुनिश्चित गर्न कलिला विरुवाको हेरचाह गर्छौं, त्यसरी नै उज्यालो र दीगो भविष्यका लागि आजका बालबालिकालाई तयार बनाउन हामीले उनीहरूको हेरचाह गर्नु र उनीहरूमा लगानी गर्नु आवश्यक छ ।”

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस