विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने बाइडेन नीतिलाई उल्ट्याउने दिशामा ट्रम्प

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने बाइडेन नीतिलाई उल्ट्याउने दिशामा ट्रम्प
२०८३ आश्विन १३, मंगलबार (१ मिनेट अघि)

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले पेट्रोलबाट चल्ने कार तथा हल्का ट्रकबाट हुने प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नियमहरू खुकुलो बनाउने नयाँ व्यवस्था सार्वजनिक गरेको छ। नयाँ नियमले विद्युतीय सवारीसाधन (EV) विस्तारलाई प्रोत्साहन गर्ने अघिल्लो बाइडेन प्रशासनको नीतिलाई उल्ट्याउने दिशामा कदम चालेको छ।

अमेरिकी यातायात विभागले ल्याएको नयाँ नियमले २०२२ देखि २०३१ मोडल वर्षका पेट्रोल तथा हल्का ट्रकहरूका लागि इन्धन दक्षता र प्रदूषण नियन्त्रणसम्बन्धी आवश्यकतामा कमी गर्नेछ। प्रशासनले यसको नाम “Freedom Means Affordable Cars” राखेको छ।

अमेरिकी यातायात सचिव सियन डफीका अनुसार नयाँ व्यवस्थाले नयाँ सवारीसाधनको औसत मूल्य करिब १,३०० अमेरिकी डलरले घटाउन र आगामी पाँच वर्षमा उपभोक्तालाई करिब १३८ अर्ब डलर बचत गराउन सक्ने सरकारको अनुमान छ। ट्रम्पले पनि कम कडा इन्धन–दक्षता मापदण्डले अमेरिकी अटो उद्योगको उत्पादन लागत घटाउने र कार उत्पादन बढाउने दाबी गरेका छन्।

यसअघि बाइडेन प्रशासनले नयाँ कारको इन्धन दक्षता बढाउन वार्षिक रूपमा कडा मापदण्ड लागू गरेको थियो। सन् २०२४ र २०२५ मोडलका लागि इन्धन दक्षता सुधारको आवश्यकता ८ प्रतिशत, २०२६ का लागि १० प्रतिशत तथा २०२७ देखि २०३१ सम्म वार्षिक २ प्रतिशत सुधारको व्यवस्था गरिएको थियो।

तर वातावरण तथा जनस्वास्थ्य क्षेत्रका संस्थाहरूले नयाँ निर्णयप्रति आपत्ति जनाएका छन्। उनीहरूका अनुसार मापदण्ड खुकुलो हुँदा पेट्रोलको खपत बढ्नुका साथै कार्बन उत्सर्जन र वायु प्रदूषणसमेत बढ्न सक्छ। अमेरिकी प्रशासनकै अनुमानअनुसार प्रस्तावित परिवर्तनले सन् २०५० सम्म करिब १०० अर्ब ग्यालन थप इन्धन खपत, १८५ अर्ब डलर थप इन्धन खर्च र करिब ५ प्रतिशत बढी कार्बनडाइअक्साइड उत्सर्जन हुन सक्छ।

अमेरिकन लङ एसोसिएसनले पनि नयाँ नियमले वायु प्रदूषण बढाउने, जनस्वास्थ्यमा असर पार्ने र जलवायु परिवर्तनलाई थप तीव्र बनाउन सक्ने चेतावनी दिएको छ। वातावरणीय समूहहरूले नयाँ नियमविरुद्ध कानुनी चुनौती दिने बताएका छन्।

अमेरिकामा यातायात क्षेत्र कुल हरितगृह ग्यास उत्सर्जनको करिब २८ प्रतिशतका लागि जिम्मेवार रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको तथ्यांक उद्धृत गर्दै द गार्जियनले जनाएको छ।

अन्तिम अध्यावधिक: September 29, 2026
English
  • ताजा अपडेट

    खोजी गर्नुहोस