युरोपका विकसित राष्ट्रहरू हाल अधिक तापलहरको सामना गरिरहेका छन्। बेलायत, फ्रान्स, स्पेन, इटाली र जर्मनीजस्ता देशहरूमा तापक्रमले दशकौँ पुराना रेकर्ड तोडेको छ। सयौँ मानिसको मृत्यु भएको छ, स्वास्थ्य सेवा प्रणालीमाथि चाप बढेको छ, ऊर्जा पूर्वाधार प्रभावित भएका छन् र जनजीवन अस्तव्यस्त बनेको छ। जलवायु परिवर्तनका कारण चरम मौसमी घटनाहरू तीव्र बन्दै गएको तथ्यलाई यो घटनाले फेरि एकपटक पुष्टि गरेको छ।
नेपाल हिमाली देश भएका कारण पनि जलवायु परिवर्तनका प्रभावबाट अझ बढी जोखिमयुक्त छ । विगत केही वर्षयता तराईका जिल्लाहरूमा गर्मीको अवधि बढ्दै गएको, तापक्रम नयाँ रेकर्डतर्फ अग्रसर भएको र जनस्वास्थ्यमा असर देखिन थालेको छ। बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु र कैलाली–कञ्चनपुरलगायतका जिल्लाहरूमा गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था पटक–पटक देखिएको छ।
युरोपमा देखिएको वर्तमान तापलहर नेपालका लागि भविष्यको चेतावनी हुन सक्छ। जलवायु वैज्ञानिकहरूले दक्षिण एसियामा तापलहरको जोखिम बढ्दै जाने चेतावनी लामो समयदेखि दिँदै आएका छन्। भारतका विभिन्न राज्यहरूमा हरेक वर्ष गर्मीका कारण सयौँ मानिस प्रभावित हुने गरेका छन्। नेपालको तराई क्षेत्र पनि त्यही भौगोलिक र जलवायु प्रणालीको हिस्सा भएकाले जोखिमबाट टाढा रहने आधार छैन।
दुर्भाग्यवश, नेपालमा तापलहरलाई अझै पनि बाढी, पहिरो वा हिमाली जोखिमजत्तिकै प्राथमिकतामा राखिएको देखिँदैन । विपद् व्यवस्थापन योजना, स्थानीय तहका पूर्वतयारी कार्यक्रम तथा सार्वजनिक स्वास्थ्य रणनीतिमा तापलहरसम्बन्धी तयारी सीमित छ। धेरै स्थानीय तहमा तापक्रमको पूर्वसूचना प्रणाली, सार्वजनिक शीतल आश्रयस्थल (Cooling Centres), स्वास्थ्यकर्मीको विशेष तयारी तथा जोखिममा रहेका समूहहरूको संरक्षणका लागि स्पष्ट कार्ययोजना छैन।
अब नेपालले तापलहरलाई भविष्यको सम्भावित विपद्का रूपमा स्वीकार गर्न आवश्यक छ। मौसम पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने, जोखिम क्षेत्र पहिचान गर्ने, विद्यालय तथा स्वास्थ्य संस्थाका लागि तापलहर कार्यविधि तयार गर्ने, सहरी क्षेत्रमा हरियाली विस्तार गर्ने तथा गर्मी प्रतिरोधी पूर्वाधार निर्माण गर्ने काम तत्काल सुरु गर्नुपर्छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला, बाहिर काम गर्ने श्रमिक तथा दीर्घरोगीहरूलाई लक्षित संरक्षण कार्यक्रम आवश्यक छ।
जलवायु परिवर्तनको प्रभाव केवल हिमाल पग्लिने वा बाढीपहिरो बढ्ने मात्र होइन, अत्यधिक गर्मी पनि उत्तिकै जोखिम हो। युरोपमा आज देखिएको संकट भोलि नेपालमा नदोहोरियोस् भन्नका लागि अहिले नै तयारी सुरु गर्नुपर्छ। विपद् आएपछि प्रतिक्रिया जनाउनेभन्दा विपद् आउनुअघि जोखिम न्यूनीकरणमा लगानी गर्नु नै बुद्धिमानी हुनेछ।
युरोपको तापलहर केवल एउटा अन्तर्राष्ट्रिय समाचार होइन, यो त नेपालका लागि समयमै सुन्नुपर्ने चेतावनीको घण्टी हो।















