रामेछाप । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम अभाव बढ्दै जाँदा कृषि उत्पादन घट्नुका साथै परम्परागत रैथाने बालीसमेत संकटमा पर्न थालेका छन् ।
किसानले परम्परागत बालीको सट्टा नयाँ तथा उन्नत जातका हाइब्रिड बाली लगाउन थालेपछि रामेछापमा स्थानीय रैथाने बाली बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन् । कतिपय रैथाने बाली हराइसके पनि किसानले भने जेनतेन कोदो खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
विगतमा ‘गरिबले खाने बाली’का रूपमा हेला गरिने कोदो पछिल्लो समय भने अत्यन्त गुणकारी र पोसिलो खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ । स्वास्थ्यका दृष्टिले समेत कोदोको महत्त्व बढ्दै गए पनि यसको उत्पादन र खेती क्षेत्र भने निरन्तर खुम्चिँदै गएको किसानहरू बताउँछन् ।
कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु, शिक्षित युवाले कृषि पेसालाई रोजगारीको आकर्षक क्षेत्रका रूपमा नहेर्नु, जलवायु परिवर्तनका कारण उत्पादनमा असर पर्नु, कृषिमा काम गर्ने जनशक्तिको अभाव हुनु र उत्पादनको उचित मूल्य नपाउनुजस्ता कारणले कोदोसहितका रैथाने बालीको खेती घट्दै गएको हो ।
मन्थली नगरपालिका–२ का वडा सदस्य तथा लामो समयदेखि कृषि कर्ममा लाग्दै आएका बालाकाजी श्रेष्ठ लगानीअनुसारको आम्दानी नहुँदा किसानले खेतीयोग्य जमिनसमेत बाँझो छाड्न थालेको बताउँछन् । ‘परम्परागत रूपमा गरिने खेतीमा कतिपय समय किसानले लगाएको ज्यालासमेत उठ्दैन,’ उनले भने ।
श्रेष्ठका अनुसार कोदो खेतीलाई संरक्षण र प्रवद्र्धन गर्न राज्यले विशेष योजना ल्याउन आवश्यक छ । कोदोलाई केवल रोटी र ढिँडोमा सीमित नराखी यसको विविध परिकार उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई मापदण्डअनुसार ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सके किसानले उत्पादनको राम्रो मूल्य पाउन सक्ने उनले बताए । ‘कोदोको बजार विस्तार गर्न सकियो भने किसानलाई खेतीतर्फ आकर्षित गर्न सकिन्छ । नेपालमा केही छैन, रोजगारी छैन भन्नेहरूका लागि पनि कृषि र रैथाने बालीमा आधारित उद्योग राम्रो रोजगारीको माध्यम बन्न सक्छ,’ श्रेष्ठले भने ।
रैथाने बालीको संरक्षणसँगै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा राज्यले लगानी गर्न सके बाझिँदै गएका खेतमा फेरि खेती फर्काउन सकिने सम्भावना देखिएको छ । यसका लागि कोदोलाई केवल परम्परागत खाद्यान्नका रूपमा नभई स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनाको आधारका रूपमा विकास गर्नुपर्ने किसानहरूको माग छ ।
















