काठमाडौं । मानव–सिर्जित जलवायु परिवर्तनका कारण युरोपमा फैलिरहेका विनाशकारी डढेलोहरू झन् तीव्र र व्यापक बन्दै गएको नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ। वैज्ञानिकहरूको निष्कर्षअनुसार, हाल स्पेनमा देखिएको अत्यधिक गर्मी, सुख्खापन र तीव्र हावाहुरीका कारण डढेलो फैलिने सम्भावना कम्तीमा २० गुणा बढाएको छ भने फ्रान्समा यस्तै अवस्था दुई गुणा बढी सम्भावित बनेको छ।
वर्ल्ड वेदर एट्रिब्युसनका वैज्ञानिकहरूले सार्वजनिक गरेको विश्लेषण अनुसार जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट उत्पन्न हरितगृह ग्यास उत्सर्जन नै यस्ता चरम मौसमी अवस्थाको मुख्य कारण हुन् । अध्ययनले जलवायु परिवर्तनका कारण दक्षिणी युरोपमा डढेलोका लागि अनुकूल मौसम तीव्र रूपमा बढ्दै गएको निष्कर्ष निकालेको छ।
जुलाईको सुरुदेखि पश्चिमी युरोपका विभिन्न क्षेत्रमा भीषण डढेलो फैलिएको छ। आगलागीका कारण मानिसहरूको ज्यान गएको, हजारौं घर तथा संरचना नष्ट भएका र तीन लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । डढेलोबाट निस्किएको धुवाँका कारण धेरै क्षेत्रमा वायु प्रदूषण पनि जोखिमयुक्त स्तरमा पुगेको छ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले तीव्र मौसमी उतारचढावको प्रवृत्ति पनि बढाइरहेको छ । यसअन्तर्गत जाडो वा वर्षायाममा पर्याप्त वर्षा भएर वनस्पति अत्यधिक बढ्ने र त्यसपछि लामो समयसम्मको गर्मी तथा सुख्खाले ती वनस्पतिलाई सुकाएर डढेलोको इन्धनमा परिणत गर्ने अवस्था सिर्जना हुन्छ।
यसअघि जुन महिनामा युरोपमा आएको घातक ताप लहर जलवायु परिवर्तनबिनाको अवस्थामा सम्भव नहुने वैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए। सो गर्मीका कारण करिब २० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघ तथा जलवायु वैज्ञानिकहरूले यस्ता विपद् रोक्न विश्वले जीवाश्म इन्धनको प्रयोग तीव्र रूपमा घटाउँदै नवीकरणीय ऊर्जातर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार हरितगृह ग्यास उत्सर्जन नियन्त्रण नगरिए भविष्यमा यस्ता डढेलो, ताप लहर र अन्य चरम मौसमी विपद् अझ बढी घातक बन्दै जानेछन् ।
















