उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल

उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल
२०८३ कार्तिक १४, शुक्रबार (१ घण्टा अघि)

भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।

बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) भनिन्छ ।

यस्तो बाढी पहाडी खोँच हुँदै तीव्र गतिमा तलतिर बग्ने क्रममा हिलो, ढुङ्गा तथा अन्य अवशेषसमेत बगाएर लैजान सक्छ । यसले सडक, पुल तथा बस्तीमा ठूलो क्षति पु¥याउन सक्छ ।

डेली भुटानले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हिमताल विस्फोटपछि आएको बाढीले गासा जिल्लामा मोछु नदी किनारमा रहेको चर्चित गासा छाचु तातोपानी परिसर पूर्ण रूपमा बगाएको छ । क्षतिको वास्तविक अवस्था भने अझै मूल्यांकन भइरहेको छ ।

त्यस्तै, पुनाखा–गासा सेकेन्डरी नेसनल हाइवेअन्तर्गत ३१.८५ किलोमिटर नजिकको सडक खण्ड पनि पूर्ण रूपमा बगाएको छ । त्यसपछि अधिकारीहरूले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन आवागमन बन्द गरेका छन् ।

यात्रुहरूलाई अत्यावश्यक नभएसम्म यात्रा स्थगित गर्न वा प्रस्थान गर्नुअघि वैकल्पिक यातायात तथा मार्गको व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ ।

गत बिहीबार अक्टोबर २९ को साँझ भुटानको उत्तरी गासा जिल्लास्थित लुङ्गोको लाया गेओगमा वाकिला हिमाल नजिक रहेको सिन्ताफु तालमा हिमताल विस्फोट भएको बताइएको छ ।

डेली भुटानका अनुसार बिहीबार राति करिब ८ः१५ बजे बाढीको पानी तक्त्सेमाखाङ पुगेको थियो । बाढीले दुर्गम उच्च पहाडी बस्ती लाया जोड्ने सडकको एक खण्डमा क्षति पुर्याएपछि उक्त सडक बन्द गरिएको थियो । लाया भुटानका दुर्गम उच्च पहाडी बस्तीमध्ये एक हो ।

सम्भावित जोखिममा रहेका स्थानबाट सावधानीस्वरूप स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो भने चेतावनीका साइरनसमेत बजाइएको थियो । अक्टोबर ३० को बिहानसम्म मानवीय क्षति वा घाइते भएको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

तालबाट पानी बाहिरिनुको वास्तविक कारण, बाहिरिएको पानीको परिमाण तथा क्षतिको पूर्ण विवरण भने पुष्टि हुन बाँकी छ । अधिकारीहरूले तालको अवस्था र तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे निरन्तर मूल्यांकन गरिरहेका छन् ।

सिन्ताफु तालको पानी मोछु नदीमा मिसिन्छ । उक्त नदी गासा र पुनाखा हुँदै दक्षिणतर्फ बग्छ । पुनाखामा मोछु नदी र फोछु नदी एकआपसमा मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा चिनिन्छ ।

डेली भुटानका अनुसार सिन्ताफु मोछु नदीको मुहान क्षेत्रमा अवस्थित उच्च हिमाली हिमताल हो । भुटानको आधिकारिक सूचीमा यसलाई सम्भावित जोखिमयुक्त १७ हिमतालमध्ये एकका रूपमा राखिएको छ ।

सम्भावित जोखिमयुक्त सूचीमा राखिनुको अर्थ उक्त तालमा हिमताल विस्फोट निश्चित छ भन्ने नभई निरन्तर निगरानी आवश्यक रहेको भन्ने हो ।

भुटानी विज्ञहरूले सन् २०२३ को मेदेखि जुन महिनासम्म उक्त तालको अध्ययन गरेका थिए । त्यस क्षेत्रमा निगरानीका उपकरणसमेत जडान गरिएको छ ।

अध्ययनका क्रममा मुख्य तथा माथिल्लो तालको मापन, आसपासको भौगोलिक अवस्था, प्राकृतिक बाँधको परीक्षण तथा तालमा पानी आपूर्ति गर्ने हिमनदीको निगरानी गरिएको थियो ।

सम्भावित हिमतालजन्य बाढीको जोखिम न्यूनीकरण र निगरानी प्रभावकारी बनाउन भुटानले त्यस क्षेत्रमा थप उपकरणसमेत जडान गरेको छ ।

सिन्ताफु तालमा हिमताल विस्फोट भएको खबरपछि छिमेकी भारतमा पनि सावधानीका उपाय अपनाइएको थियो । विशेषगरी उत्तर बंगालका संकोश नदी तथा यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।

यसैबीच, केन्द्रीय जल आयोग (सीडब्लूसी) ले भुटानको सिन्ताफु तालमा भएको भनिएको हिमताल विस्फोटपछि पश्चिम बंगाल र आसामका लागि विशेष बाढीसम्बन्धी चेतावनी जारी गरेको छ ।

आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको छ । दुवै राज्यलाई सतर्क अवस्थामा राख्दै स्थानीय प्रशासनलाई संकोश नदीको जलस्तर तथा बहावलाई नजिकबाट निगरानी गर्न र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिइएको छ । (एएनआई)

अन्तिम अध्यावधिक: October 30, 2026
English
  • ताजा अपडेट

    खोजी गर्नुहोस