ऊर्जा संकटको समाधानतर्फ टर्की : ब्याट्री भण्डारणमा ऐतिहासिक प्रगति

ऊर्जा संकटको समाधानतर्फ टर्की : ब्याट्री भण्डारणमा ऐतिहासिक प्रगति
२०८२ चैत्र २५, बुधबार (३ महिना अघि)

काठमाडौँ । ऊर्जा संक्रमणको दौडमा टर्की युरोपेली संघका देशहरूभन्दा अगाडि बढ्ने अवस्थामा पुगेको एक अध्ययनले देखाएको छ। पछिल्ला वर्षहरूमा जीवाश्म इन्धन संकट तीव्र बन्दै जाँदा टर्कीले ब्याट्री भण्डारण प्रविधिमा ठूलो लगानी गर्दै ऊर्जा क्षेत्रमा नयाँ गति लिएको हो।

क्लाइमेट थिंक ट्यांक ‘एम्बर’ को प्रतिवेदनअनुसार सन् २०२२ यता टर्कीले करिब ३३ गिगावाट बराबरको ब्याट्री भण्डारण क्षमता स्वीकृत गरिसकेको छ, जुन युरोपेली संघका अग्रणी देशहरू जर्मनी र इटालीको संयुक्त क्षमताभन्दा दोब्बरभन्दा बढी हो ।

ऊर्जा प्रणालीमा ब्याट्रीको प्रयोगले सौर्य र हावाबाट उत्पादन हुने बिजुलीलाई भण्डारण गरी आवश्यक पर्दा प्रयोग गर्न सकिने भएकाले मौसममा निर्भर नवीकरणीय ऊर्जालाई स्थिर बनाउने महत्वपूर्ण माध्यम मानिन्छ। यसले जीवाश्म इन्धनमा निर्भरता घटाउन मद्दत गर्छ।

विशेषज्ञहरूका अनुसार टर्कीले सन् २०२२ मा लागू गरेको नीतिले नवीकरणीय ऊर्जा परियोजनासँगै ब्याट्री भण्डारण जोडिएका परियोजनालाई ग्रिडमा प्राथमिकता दिएको छ, जसले लगानी बढाउन ठूलो संकेत दिएको छ।

तर, टर्कीको ऊर्जा संरचना अझै पनि कोइलामा निर्भर छ। कुल विद्युत उत्पादनमध्ये करिब ३४ प्रतिशत हिस्सा कोइलाबाट आउने गरेको छ र यस क्षेत्रमा सरकारी अनुदानसमेत जारी छ।

यद्यपि, टर्कीले सन् २०३५ सम्ममा सौर्य र वायु ऊर्जाको क्षमता ४० गिगावाटबाट बढाएर १२० गिगावाट पुर्‍याउने लक्ष्य राखेको छ। तर पछिल्लो वर्ष आवश्यक लक्ष्यअनुसार नयाँ क्षमता थप्न भने असफल भएको प्रतिवेदनले जनाएको छ।

यसैबीच, जीवाश्म इन्धन संकट विश्वव्यापी रूपमा चर्किँदै जाँदा नवीकरणीय ऊर्जा र ब्याट्री प्रविधि सस्तो हुँदै गएको छ, जसले टर्कीजस्ता विकासोन्मुख देशहरूलाई स्वच्छ ऊर्जातर्फ तीव्र गतिमा अघि बढ्न अवसर दिएको विश्लेषण गरिएको छ।

टर्कीले आगामी नोभेम्बरमा कोप-३१ जलवायु सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। तर प्रारम्भिक कार्ययोजनामा जीवाश्म इन्धन चरणबद्ध रूपमा हटाउने विषय उल्लेख नभएको भन्दै आलोचना पनि भएको छ।

विश्लेषकहरूका अनुसार अनुमति प्रक्रिया ढिलाइ, बजारमा निर्भरता लगायतका चुनौती अझै बाँकी रहे पनि ब्याट्री भण्डारणमा भएको तीव्र लगानीले टर्कीलाई भविष्यमा क्षेत्रीय स्वच्छ ऊर्जा केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना देखाएको छ।

अन्तिम अध्यावधिक: April 8, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस