काठमाडौँ । जलवायु परिवर्तनका कारण समुद्री बरफ तीव्र रूपमा पग्लिन थालेपछि सम्राट पेंगुइन (एम्परर पेंगुइन) लोप हुन सक्ने गम्भीर जोखिममा पुगेका छन्। विशेषगरी बच्चा सम्राट पेंगुइनहरू ठूलो संख्यामा समुद्रमा डुबेर मर्ने घटनाले वैज्ञानिकहरू चिन्तित भएका छन्।
सम्राट पेंगुइन, पेंगुइनको प्रजातिमा सबै भन्दा ठूलो मानिन्छ।
वैज्ञानिकहरूका अनुसार पेंगुइनले प्रजनन र बच्चा हुर्काउन समुद्रसँग जोडिएको स्थिर बरफमा निर्भर रहन्छन्। तर पछिल्ला वर्षहरूमा जलवायु तातिँदै जाँदा यो बरफ समयभन्दा अगावै फुट्न थालेको छ, जसले गर्दा पूरै उपनिवेश समुद्रमा खस्ने जोखिम बढेको छ ।
अझै जलरोधक प्वाँख विकसित नभएका बच्चा पेंगुइनहरू पानीमा खसेपछि तुरुन्तै डुब्ने वा चिसोले जमेर मर्ने अवस्था रहेको छ। सन् २०२२ मा बेलिङ्सहाउजेन सागर क्षेत्रमा रहेका पाँचमध्ये चार प्रजनन स्थलमा यस्तो घटना देखिँदा हजारौँ बच्चाहरूको मृत्यु भएको थियो।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले हालै सम्राट पेंगुइनलाई ‘लोपुन्मुख’ बाट ‘संकटग्रस्त’ प्रजातिको सूचीमा राखेको छ। हाल करिब ५ लाख ९५ हजार वयस्क पेंगुइन रहेको अनुमान गरिए पनि सन् २०८० सम्ममा यो संख्या आधाभन्दा कम हुने प्रक्षेपण गरिएको छ। सेटेलाइटबाट लिइएको तस्विर अनुसार सन् २००९ देखि २०१८ सम्मको अवधिमा २० हजार वयस्क पेंगुइन लोप भैसकेका छन्, जुन कुल पेंगुइन संख्याको करी १० प्रतिशत हो।
विशेषज्ञहरूले यो अवस्थालाई जलवायु संकटको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्। यदि कार्बन उत्सर्जन घटाउन तत्काल कदम चालिएन भने यस्ता प्रजातिहरू मात्र होइन, सम्पूर्ण ध्रुवीय पारिस्थितिक प्रणाली नै जोखिममा पर्ने विशेषज्ञहरूको चेतावनी छ ।
यस घटनाले जलवायु परिवर्तनको प्रभाव केवल मौसमसम्म सीमित नरही जैविक विविधता र पृथ्वीको सन्तुलनमा समेत गहिरो असर पारिरहेको स्पष्ट गरेको छ।













