युरोपमा भीषण गर्मीको कहर: तापक्रमले तोड्यो दशकौँको रेकर्ड

युरोपमा भीषण गर्मीको कहर: तापक्रमले तोड्यो दशकौँको रेकर्ड
२०८३ अषाढ ११, बिहिबार (१ मिनेट अघि)

जलवायु परिवर्तनले मौसमजन्य घटनालाई तीव्र बनाउँदै गर्दा युरोप अहिले दशककै सबैभन्दा खतरा तापलहर (Heatwave) को सामना गरिरहेको छ। बेलायत, फ्रान्स, इटाली, स्पेन र जर्मनीलगायतका देशहरूमा तापक्रमले नयाँ कीर्तिमान बनाएको छ भने स्वास्थ्य, ऊर्जा र यातायात प्रणालीमा गम्भीर असर परेको छ ।

बेलायतमा जुन महिनाको इतिहासमै सबैभन्दा उच्च तापक्रम ३६.४ डिग्री सेल्सियस मापन गरिएको छ। राजधानी लन्डनसहित विभिन्न क्षेत्रमा अत्यधिक गर्मीका कारण आपत्कालीन स्वास्थ्य सेवामा चाप बढेको छ। लन्डन एम्बुलेन्स सेवाले एकै दिनमा ६४२ वटा जोखिमयुक्त आपत्कालीन घटनामा सेवा दिएको जनाएको छ ।

फ्रान्सको अवस्था अझ गम्भीर बनेको छ । देशले लगातार दोस्रो दिन आफ्नो इतिहासकै उच्च तापक्रमको सामना गरेको छ। पेरिससहित धेरै शहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। नदीको तापक्रम अत्यधिक बढेपछि वातावरणीय जोखिम कम गर्न दुईवटा आणविक विद्युत् रियाक्टर अस्थायी रूपमा बन्द गरिएको छ ।

गर्मीको प्रभाव मानव स्वास्थ्यमा पनि देखिएको छ । स्पेनमा चार दिनको अवधिमा करिब २१२ जनाको मृत्यु गर्मीसँग सम्बन्धित कारणले भएको अनुमान गरिएको छ भने इटालीमा २४ घण्टाभित्र पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । फ्रान्समा चिसोको खोजीमा नदी तथा तालमा पौडी खेल्ने क्रममा ४० जनाभन्दा बढीको ज्यान गएको छ ।

जर्मनीमा यसै साता तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। युरोपभर लाखौँ मानिसहरू रेड अलर्ट र स्वास्थ्य चेतावनीको दायरामा परेका छन् । विद्यालय बन्द गरिएका छन्, रेल सेवा प्रभावित भएका छन् र धेरै शहरहरूले ‘कुलिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन् ।

संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले यस घटनालाई जलवायु परिवर्तनका कारण चरम गर्मीका घटना आगामी वर्षहरूमा अझ तीव्र र बारम्बार हुन सक्ने चेतावनी दिएका छन् । हाल युरोपका करिब १० करोडभन्दा बढी मानिस ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको प्रभावमा रहेको अनुमान गरिएको छ ।

जीवाश्म इन्धनको प्रयोगबाट बढ्दो हरितगृह ग्यास उत्सर्जनले यस्ता चरम तापलहरलाई थप तीव्र बनाइरहेको र मानव स्वास्थ्य, ऊर्जा सुरक्षा तथा खाद्य प्रणालीमा गम्भीर चुनौती सिर्जना गरिरहेको जलवायु विज्ञहरूको बुझाइ छ ।

एजेन्सी

अन्तिम अध्यावधिक: June 25, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस