तराईका १५ जिल्लामा तातो हावा र अत्यधिक गर्मीको जोखिम, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

तराईका १५ जिल्लामा तातो हावा र अत्यधिक गर्मीको जोखिम, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह
२०८३ जेष्ठ २१, बिहिबार (३४ मिनेट अघि)

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आगामी तीन दिन देशका विभिन्न तराई क्षेत्रमा तातो हावा (Heat Wave) र अत्यधिक गर्मीको जोखिम रहने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा मध्यम तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि तातो हावाको प्रभाव देखिन सक्ने जनाइएको छ ।

विभागका अनुसार केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने भएकाले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले सर्लाही, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै झापा, मोरङ, सुनसरी, चितवन तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लालाई पनि उच्च जोखिम क्षेत्रमा राखिएको छ ।

प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण शरीरको तापक्रम बढ्ने, थकान लाग्ने, कमजोरी महसुस हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, बेहोस हुने तथा मांसपेशी दुख्ने जस्ता समस्या देखिन सक्छन् ।

सम्भावित जोखिम न्यूनीकरणका लागि दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का र खुकुला कपडा लगाउन, पर्याप्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, शीतल स्थानमा बस्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै, विद्यालय तथा अन्य शैक्षिक संस्थालाई स्थानीय मौसम अवस्थाअनुसार पठनपाठन सञ्चालनमा आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ ।

प्राधिकरणले गर्मीजन्य स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ ।

अन्तिम अध्यावधिक: June 4, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस