काठमाडौं । विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी हेलि, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
आज प्राधिकरणमा आयोजित एक कार्यक्रममा यी तीन वटा संस्था र प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा संचालक संघ, नेपालसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।
यसैगरी नेपाल ड्रोन संघसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनु पर्नेछ ।
सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ । यसैगरी नेपाल एसोसीएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत् सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ । राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ । यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताए । उनले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने भन्दै निजी क्षेत्रको सेवाभाव प्रति आभार व्यक्त गरे । यसैगरी वायुसेवा संचालक संघ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको ज्यू–धनको सुरक्षाका लागि आफूहरुले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त अवसरमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणिन्द्र प्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।















