डुब्दै गरेको देशबाट विश्वलाई सन्देश : तुभालुमा जुट्दै विश्व नेताहरू

डुब्दै गरेको देशबाट विश्वलाई सन्देश : तुभालुमा जुट्दै विश्व नेताहरू
२०८३ बैशाख २, बुधबार (३ महिना अघि)

काठमाडौँ । जलवायु संकटको अग्रपंक्तिमा रहेको प्रशान्त महासागरको सानो द्वीपीय राष्ट्र तुभालुले आगामी कोप ३१ सम्मेलनअघि विश्व नेताहरूको विशेष बैठक आयोजना गर्ने भएको छ। यो बैठकले नोभेम्बरमा टर्कीको अन्ताल्यामा हुने मुख्य सम्मेलनअघि जलवायु वार्तालाई गति दिने लक्ष्य राखेको छ।

यो पूर्व–सम्मेलन (प्रि–कोप) अन्तर्गत फिजीमा औपचारिक बैठक हुने तय भए पनि तुभालुमा ‘नेतृत्वस्तरीय विशेष सत्र’ आयोजना गरिनेछ, जसले जलवायु संकटको वास्तविक असर भोगिरहेका राष्ट्रहरूको आवाजलाई विश्वमञ्चमा बलियो बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारीमा अष्ट्रेलियाका ऊर्जा तथा उत्सर्जन मन्त्री क्रिस बोवेन र टर्कीका जलवायु मन्त्री मुरात कुरुमले संयुक्त रूपमा नेतृत्व लिनेछन्। उनीहरूले जलवायु परिवर्तनविरुद्धको लडाइँलाई तीव्र बनाउने, स्वच्छ ऊर्जातर्फको संक्रमणलाई अघि बढाउने र जलवायु अनुकूलन वृद्धि गर्ने विषयमा सहकार्य गर्ने बताएका छन्।

यसैबीच, जर्मनीका वातावरण तथा जलवायु अधिकारीहरूले विश्वव्यापी भू–राजनीतिक संकटहरू (जस्तै मध्यपूर्वको द्वन्द्व) का कारण जलवायु कार्यसूची ओझेलमा पर्न नदिन चेतावनी दिएका छन्। उनीहरूले विशेषगरी यातायात, उद्योग र घरायसी क्षेत्रमा विद्युतीकरणलाई जलवायु समाधानको प्रमुख माध्यमका रूपमा अघि सार्नुपर्ने बताएका छन्।

तुभालुजस्ता साना द्वीपीय राष्ट्रहरू समुद्री सतह वृद्धि, तटीय क्षति र पानीको स्रोतमा खारोपनको समस्या जस्ता गम्भीर जलवायु प्रभावसँग जुधिरहेका छन्। यही कारण, विश्व नेताहरूलाई प्रत्यक्ष रूपमा यस्तो संकट देखाउने उद्देश्यले प्रशान्त क्षेत्रमा प्रि–कप बैठक आयोजना गर्न लागिएको हो।

विशेषज्ञहरूका अनुसार, यस्तो बैठकले आगामी कोप ३१ सम्मेलनका लागि सहमति निर्माण, प्राथमिकता निर्धारण र कमजोर राष्ट्रहरूको आवाज सशक्त बनाउने महत्वपूर्ण भूमिका खेल्नेछ।

अन्तिम अध्यावधिक: April 15, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस