कोप–३१ विरुद्ध अन्ताल्यामा हजारौँको प्रदर्शन, ‘जलवायु न्याय’का लागि सडकमा उत्रिए प्रदर्शनकारी

कोप–३१ विरुद्ध अन्ताल्यामा हजारौँको प्रदर्शन, ‘जलवायु न्याय’का लागि सडकमा उत्रिए प्रदर्शनकारी
२०८३ कार्तिक ३०, आईतबार (१ मिनेट अघि)

अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ मानिसले जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। सम्मेलनमा सहभागी विश्व नेताहरूले जलवायु संकट समाधानका लागि पर्याप्त प्रतिबद्धता नदेखाएको भन्दै वातावरण अभियन्ता, श्रमिक संगठन, मानव अधिकारकर्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सडकमा उत्रिएका हुन्।

शनिबार अन्ताल्यामा आयोजित प्रदर्शनमा प्रहरीको अनुमानअनुसार सात हजारभन्दा बढी मानिस सहभागी थिए। वर्षाका बाबजुद प्रदर्शनकारीहरूले विभिन्न नारासहित र्‍याली निकालेका थिए। कोप सम्मेलनको दुई साताको वार्ताको बीचमा आयोजना गरिने परम्परागत ‘पिपुल्स कोप’ अर्थात् जनताको जलवायु सम्मेलनसँगै यो प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीहरूले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय वार्तामा बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले जलवायु न्याय, जीवाश्म इन्धनको प्रयोग अन्त्य, प्रदूषणकारी कम्पनीलाई जवाफदेही बनाउने तथा प्रभावित समुदायलाई क्षतिपूर्ति र अनुकूलनका लागि पर्याप्त आर्थिक सहायता उपलब्ध गराउन माग गरेका छन्।

‘हामी जलवायु अन्यायको परिणाम भोगिरहेका छौँ, तर कोप सम्मेलनमा हाम्रा आवाज कहिल्यै सुनिँदैनन्,’ जनताको जलवायु सम्मेलन आयोजना गर्ने समूहकी प्रतिनिधि हलीमे समानले बताइन्।

उनले कोप–३१ को सहअध्यक्ष राष्ट्र टर्कीसँग जीवाश्म इन्धनबाट बाहिरिने स्पष्ट कार्ययोजना नरहेको भन्दै आलोचना गरिन्। टर्कीमा नयाँ कोइलामा आधारित विद्युत् आयोजना र कोइला खानी विस्तार भइरहेका बेला सम्मेलनमा वातावरण संरक्षणको प्रतिबद्धता व्यक्त गर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ थियो।

‘सम्मेलनमा जलवायु होइन, आफ्नै स्वार्थको चर्चा’

प्रदर्शनमा सहभागीहरूले कोप सम्मेलनमा हुने उच्चस्तरीय राजनीतिक छलफलप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका अनुसार विश्व नेताहरू जलवायु संकट समाधानभन्दा भू–राजनीतिक स्वार्थ, व्यापार र आर्थिक लाभका विषयमा बढी केन्द्रित छन्।

टर्कीको पिपुल्स डेमोक्रेटिक पार्टीसँग आबद्ध अभियन्ता आयसे ओज्देमिरले सम्मेलनमा सहभागी नेताहरूले आफ्नै स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाइन्।

उनका अनुसार केही नेताहरू मध्यपूर्वको राजनीतिक अवस्था, भूमि र हतियार व्यापारजस्ता विषयमा केन्द्रित छन्। यस्तो छलफलले जलवायु संकट समाधानमा सहयोग नगर्ने र अन्ततः ठूला पुँजीपतिहरूलाई मात्र फाइदा पुग्ने उनको टिप्पणी थियो।

‘हामी यो प्रदर्शन भावी पुस्ताका लागि गरिरहेका छौँ। पृथ्वीलाई प्रदूषित बनाउने पुस्ता हामी नै हौँ। अब उनीहरूका लागि यसलाई सुधार्नु हाम्रो जिम्मेवारी हो,’ उनले भनिन्।

त्यस्तै, टर्कीको नर्दन फरेस्ट्स डिफेन्स समूहकी अभियन्ता एसर ओन्सेलले ठूला पूर्वाधार आयोजना, खानी विस्तार र वन विनाशले प्राकृतिक बासस्थान नष्ट गरिरहेको बताइन्। सरकारले कोप सम्मेलनमा पारिस्थितिक प्रणाली संरक्षणको कुरा गरे पनि आफ्नै देशमा वातावरण विनाश गर्ने आयोजना अघि बढाइरहेको उनको आरोप थियो।

जीवाश्म इन्धन कम्पनीको प्रभावप्रति आक्रोश

प्रदर्शनकारीहरूले जलवायु सम्मेलनमा वातावरण विनाशमा योगदान पुर्‍याउने कम्पनीहरूको प्रभाव बढिरहेको भन्दै प्रश्न उठाएका छन्। उनीहरूले यस्ता कम्पनीलाई सम्मेलनका प्रायोजक तथा नीतिगत प्रक्रियामा प्रभाव पार्ने अवसर दिनु जलवायु न्यायको मर्मविपरीत भएको बताएका छन्।

टर्कीको दक्षिणी क्षेत्रमा कोइला खानी र प्लास्टिकजन्य फोहोर आयातका कारण वातावरणीय प्रदूषण बढेको भन्दै स्थानीय अभियन्ताहरूले पनि विरोध जनाएका छन्।

अदानाबाट करिब ६०० किलोमिटर यात्रा गरेर प्रदर्शनमा सहभागी भएका ७८ वर्षीय अभियन्ता यासार गोकुलुले कोप–३१ लाई ठूला कम्पनीको स्वार्थबाट सञ्चालित ‘नाटक’को संज्ञा दिए।

उनले आफ्नो क्षेत्रमा कोइलामा आधारित विद्युत् आयोजना, पेट्रोकेमिकल उद्योग र युरोपेली मुलुकबाट आयात हुने प्लास्टिकजन्य फोहोरले वातावरण तथा कृषि भूमिमा गम्भीर असर पारिरहेको बताए।

आदिवासी तथा जोखिममा रहेका समुदायको पनि सहभागिता

प्रदर्शनमा टर्कीका विभिन्न क्षेत्रका नागरिकसँगै इन्डोनेसियाको पारी टापुका प्रतिनिधिहरू पनि सहभागी थिए। समुद्री सतह बढ्दै जाँदा डुबानको जोखिममा रहेको पारी टापुका बासिन्दाहरूले जलवायु संकटमा योगदान पुर्‍याउने कम्पनीलाई जवाफदेही बनाउन माग गरेका छन्।

उनीहरू स्विट्जरल्यान्डको सिमेन्ट कम्पनी होल्सिमविरुद्ध कानुनी प्रक्रियामा समेत संलग्न छन्। कम्पनीको दशकौँदेखिको उच्च कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा योगदान पुर्‍याएको भन्दै उनीहरूले क्षतिपूर्ति मात्र नभई उत्सर्जन कटौती र अनुकूलनका लागि सहयोगको माग गरेका छन्।

प्रदर्शनमा मानव अधिकार तथा एलजीबीटीक्यू अधिकारकर्मीहरूको पनि सहभागिता थियो। टर्कीमा पछिल्लो समय एलजीबीटीक्यू समुदायमाथि सरकारी दबाब र धरपकड बढेको भन्दै उनीहरूले जलवायु न्याय र मानव अधिकारलाई अलग गर्न नसकिने बताएका छन्।

प्रहरीको कडा निगरानीमा भएको प्रदर्शनमा सहभागी हुनुअघि मानिसहरूको सुरक्षा जाँच गरिएको थियो। सडकहरू बन्द गरेर करिब डेढ किलोमिटर लामो निर्धारित मार्गमा प्रदर्शनकारीलाई हिँडाइएको थियो। प्रदर्शनपछि आयोजित सभामा विभिन्न समूहका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए।

वार्ता निर्णायक चरणमा, उपलब्धिप्रति आशंका

कोप–३१ को वार्ता आधा अवधि पार गर्दै अन्तिम सातातर्फ अघि बढिरहेका बेला प्रदर्शन भएको हो। करिब २०० राष्ट्रका प्रतिनिधिहरू जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको संक्रमण, विकासशील राष्ट्रका लागि जलवायु वित्त, अनुकूलन र जलवायु विज्ञानको संरक्षणजस्ता विषयमा सहमति खोजिरहेका छन्।

तर यी विषयमा विकसित र विकासशील राष्ट्रबीच मतभेद कायमै छन्। विशेषगरी जलवायु परिवर्तनको असर सामना गरिरहेका विकासशील राष्ट्रलाई आवश्यक वित्तीय सहायता उपलब्ध गराउने र जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने विषयमा सहमति जुटाउन चुनौती देखिएको छ।

शनिबारको प्रदर्शनसँगै आइतबारदेखि वैकल्पिक ‘पिपुल्स क्लाइमेट समिट’ पनि सुरु भएको छ। यसमा टर्कीसहित विभिन्न देशका नागरिक समाज, वातावरण अभियन्ता र अधिकारकर्मीहरूले जलवायु संकट, जीवाश्म इन्धनबाट संक्रमण र लोकतान्त्रिक अधिकारका विषयमा छलफल गर्नेछन्।

कोप–३१ नोभेम्बर २० मा सम्पन्न हुँदैछ। अन्तिम पाँच दिनमा राष्ट्रहरूले जलवायु कार्ययोजनासम्बन्धी साझा निर्णयमा सहमति जुटाउनुपर्नेछ। तर सम्मेलनको पहिलो सातामा देखिएको सुस्त प्रगति र प्रदर्शनकारीहरूको असन्तुष्टिले यस वर्षको सम्मेलनबाट अपेक्षित महत्वाकांक्षी उपलब्धि हासिल हुनेमा प्रश्न उठाएको छ।

अन्तिम अध्यावधिक: November 15, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    खोजी गर्नुहोस