काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान सेराक भत्किदा एक भारतीय पर्वतारोही र एक शेर्पा हिमाल गाइड घाइते भएका छन्।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना (सेराक) फुटेर झरेको थियो। करिब २० मिटर तलसम्म खसेको बरफले बाटोमा रहेका सदस्यहरूलाई असर पुर्याएको हो।
घटनामा संखुवासभाका ४४ वर्षीय पर्वतीय गाइड पेम्बा तेन्डुक शेर्पा र सेभेन समिट ट्रेक्ससँग आबद्ध ४० वर्षीय भारतीय पर्वतारोही निमिश कुमार सिंह घाइते भएका छन्।
पायोनियर एडभेन्चर र समिट फोर्स एक्सपिडिसनका गाइडहरूले तत्काल उद्धार गरी आधार शिविरमा जानकारी गराएका थिए । त्यसपछि उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएकाे थियो । लुक्लाबाट उडेको हेलिकप्टर बिहान ६ः३० बजे घटनास्थल पुगेको थियो ।
घाइते दुवै जनालाई काठमाडौंस्थित अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । पर्यटन विभागले उनीहरूको अवस्था हाल खतरामुक्त रहेकाे जनाएको छ ।













