काठमाडौं । यतिबेला नेपालसहित दक्षिण एसियाली क्षेत्र एउटा यस्तो अदृश्य मौसमी चक्रको चेपुवामा पर्दैछ, जसले हाम्रो कृषि, पानीको स्रोत, र अर्थतन्त्रको मेरुदण्ड मानिने मनसुनलाई नै ध्वस्त पार्ने चेतावनी दिइरहेको छ । वैज्ञानिकहरूले यसलाई सुपर एल निनो नाम दिएका छन् । प्रशान्त महासागरको गर्भमा तातिरहेको पानीको तापक्रमले नेपालको पहाडी खोँचदेखि तराईका उर्वर फाँटहरूसम्म यस वर्ष अनिकाल र अस्वाभाविक विपद्को घण्टी बजाइरहेको छ ।
हाम्रो आकाशमा बादल मडारिनु र पृथ्वीमा पानी पर्नुको सम्बन्ध केवल स्थानीय वायुमण्डलसँग मात्र जोडिएको हुँदैन । हामीभन्दा हजारौँ माइल टाढा रहेको प्रशान्त महासागरको पानामा आउने अस्वाभाविक परिवर्तनले नेपालको वर्षा चक्रलाई नियन्त्रण गरिरहेको हुन्छ । प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा धेरै बढ्ने प्रक्रियालाई वैज्ञानिक भाषामा एल निनो भनिन्छ । तर, जब यो तापक्रम वृद्धि सामान्य अवस्थाभन्दा २ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्छ, तब यसले महा–विपद्को रूप लिन्छ, जसलाई सुपर एल निनो भनिन्छ ।
यो कुनै एकाएक आउने संकट होइन । विश्व मौसम विज्ञान संगठनका अनुसार, यस वर्ष प्रशान्त महासागरको तापक्रम निरन्तर बढ्दै गएर डिसेम्बर सम्ममा यो शताब्दीकै सबभन्दा बलियो सुपर एल निनोमा परिणत हुने पुर्वानुमान गरिएको छ । यसले विश्वको वायुमण्डलीय वायुको दिशा र चापलाई उल्ट्याइदिन्छ । जसको सोझो असर दक्षिण एसियालाई जीवन दिने ग्रीष्मकालीन मनसुनमा पर्छ ।
जल तथा मौसम विज्ञान विभागमा कार्यरत वरिष्ठ जलवायुविद् डा इन्दिरा कँडेल एल निनोको समयमा प्रशान्त महासागरमा तातेको हावा र पानीका कारण त्यसतर्फ न्यून चापीय प्रणाली बलियो बन्ने बताउँछिन् । यसले गर्दा दक्षिण एसियातर्फ बहने मनसुनी हावालाई कमजोर बनाइदिने उनले बताइन् । ‘यसका कारण नेपालमा आउनुपर्ने आद्रतायुक्त हावा प्रशान्त महासागरतिरै खिचिन्छ,’ उनले भनिन्, ‘परिणाम स्वरूप, हाम्रो क्षेत्रमा मनसुन कमजोर हुन पुग्छ र खडेरीको जोखिम उच्च हुन्छ ।’

दक्षिण एसियाली जलवायु मञ्च (सास्कोफ–३४) को हालै माल्दिभ्समा सम्पन्न ३४ औं बैठकले यो वर्ष दक्षिण एसियामा औसतभन्दा निकै कम वर्षा हुने र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा उच्च रहने पूर्वानुमान गरेको छ । दक्षिण एसियाका करिब डेढ अर्ब मानिस कृषिमा आश्रित छन् र यहाँको अर्थतन्त्र मनसुनको वर्षामा निर्भर छ । तर, सुपर एल निनोको उदयले यो सम्पूर्ण चक्रलाई नै जोखिममा पारेको छ । मध्य र पश्चिमी भारत तथा पाकिस्तानका कृषि क्षेत्रहरूमा तीव्र खडेरी र तातो हावा चल्ने जोखिम बढेको छ । नदीहरूमा पानीको बहाव घट्दा भारत र नेपालका जलविद्युत आयोजनाहरूको उत्पादन क्षमतामा ४० प्रतिशतसम्म गिरावट आउन सक्ने चेतावनी दिइएको छ । दक्षिण एसियाका अधिकांश भूभागमा यो वर्ष गर्मीका नयाँ रेकर्डहरू कायम हुन सक्ने अनुमान वैज्ञानिकहरूका छ ।
नेपालको सन्दर्भमा सुपर एल निनोले यो वर्षको मनसुनलाई पूर्णतः प्रभावित पार्ने लगभग निश्चित देखिएको छ । विगतका तथ्याङ्क पल्टाउने हो भने, विगतका ९ वटा एल निनो वर्षहरूमध्ये ८ वर्ष नेपालमा औसतभन्दा निकै कम वर्षा भएको पाइएको छ । यो वर्षको मनसुनमा नेपालमा मुख्य रूपमा कमजोर मनसुन र लामो खडेरी हुने पुर्वअनुमान गरिएको छ । जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनले वर्षभरिको ८० प्रतिशत पानी प्रदान गर्दछ । तर एल निनोका कारण मनसुनी वायु कमजोर हुँदा साउनमा पनि लामो समय पानी नपर्ने स्थिति सिर्जना भएको छ । यसले धान बालीको रोपाइँ र उत्पादनमा व्यापक असर पार्नेछ ।
कम वर्षा हुनुको अर्थ विपद् नआउनु होइन । एल निनोको समयमा मौसम अत्यन्तै अनपेक्षित र उग्र बन्छ । पानी नपर्दा हप्तौँसम्म खडेरी पर्ने र पानी पर्दा एकैचोटि एकै ठाउँमा मुसलधारे वर्षा हुने प्रवृत्ति बढ्छ । जसले गर्दा पहाडमा ठूला पहिरो र तराईमा अचानक विनाशकारी बाढी आउने बहु–प्रकोपको जोखिम दोब्बर हुन्छ । नेपालको तराई क्षेत्रमा यो वर्ष गर्मी निकै कष्टकर हुनेछ । तराईका जिल्लाहरूमा तातो हावा चल्ने समय लम्बिनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा समेत औसतभन्दा बढी तापक्रम महसुस हुनेछ । यसले हिमालका हिउँ तीव्र गतिमा पग्लने र हिमताल विस्फोटको खतरा समेत बढाउनेछ ।
‘पहिला–पहिला असार लाग्दा खेत हिलो भइसक्थ्यो । यो पाला त कुलोमा पानी पनि छैन, आकाशतिर हेर्दा बादल पनि लाग्दैन । पम्पसेट चलाएर रोपाउँ भन्यो भने डिजेलको भाउ महँगो छ,’ बाराका ५५ वर्षीय किसान रामलोचन थारूले भने, ‘भूमिगत पानीको तह पनि सुक्दै गएको छ । यसपालि त छोराछोरीलाई के खुवाएर पाल्ने हो, निकै चिन्ता लागेको छ ।’ मनसुन कमजोर हुँदा यसको बहुआयामिक असर सीधा देशको अर्थतन्त्र र जनस्वास्थ्यमा पर्दछ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब २४ प्रतिशत छ र कृषि क्षेत्र मुख्य रूपमा आकाशे पानीमा निर्भर छ । धान, मकै र कोदो जस्ता मुख्य खाद्यान्नको उत्पादनमा गिरावट आउँदा देशमा खाद्य संकट निम्तिने र आयातमा भर पर्नुपर्ने बाध्यता बढ्नेछ । अर्कोतर्फ, खडेरी र बढ्दो तापक्रमका कारण खानेपानीका मुहानहरू सुक्दा हैजा, झाडापखाला, र लामखुट्टेजन्य रोगहरू डेंगु, मलेरियाको प्रकोप महामारीका रूपमा फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

सुपर एल निनो केवल मौसमविद्हरूले प्रयोगशालामा गर्ने बहस मात्र होइन । यो त हाम्रा किसानका खेतका गराहरू सुक्ने, हाम्रा नदीहरूमा पानी घट्ने, र हाम्रो भान्सा महँगो हुने वास्तविक संकट हो । जलवायु परिवर्तनले पहिले नै थलिएको नेपाल जस्तो पर्वतीय देशका लागि यो संकट सामना गर्न परम्परागत तयारीले मात्र पुग्दैन । सरकारले तत्काल सुक्खा सहनसक्ने बालीका बीउहरू किसानलाई उपलब्ध गराउने, सिँचाइका वैकल्पिक माध्यमहरू तयार राख्ने, र सम्भावित अनिकाल तथा जलजन्य महामारीसँग लड्न आपत्कालीन खाद्यान्न र औषधिको भण्डारण बेलैमा गर्न आवश्यक छ ।
समयमै सचेत नहुने हो भने, यो वर्षको मनसुनले हाम्रा खेत मात्र होइन, देशको समग्र अर्थतन्त्र र जनजीवनलाई नै मरुभूमिकरण तर्फ धकेल्न सक्छ । प्रकृतिले हामीलाई पूर्व–चेतावनी दिइसकेको छ । प्रशान्त महासागरको तातो पानीले हाम्रो ढोकामा घण्टी बजाइसकेको अवस्थामा अबको दायित्व राज्य र सरोकारवाला निकायको हो । पूर्व–तयारीमा गरिने सानो हेलचेक्य्राइँले भोलि ठूलो मानवीय र आर्थिक क्षति निम्त्याउन सक्छ । त्यसैले यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
















