काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।
शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ ।
जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो । शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय २० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।
दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो । दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।
कोशी ब्यारेजमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।















