काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुटेका कारण आएको हुन सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को प्रारम्भिक विश्लेषणले देखाएको छ।
ICIMOD का अनुसार पहिरोले नदीको बहाव अवरुद्ध गरेपछि जम्मा भएको पानी अचानक निस्कँदा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। बाढीसँगै ठूलो मात्रामा ढुङ्गा, माटो, बालुवा र अन्य गेग्रान बगेर नदीको तल्लो तटीय क्षेत्रमा पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
ICIMOD का महानिर्देशक पेमा ग्याम्छोले हिमाली क्षेत्रका समुदाय तथा नदी किनारका बस्तीहरू आकस्मिक र एकपछि अर्को प्रभाव निम्त्याउने प्राकृतिक विपद्को जोखिममा रहेको बताएका छन्। उनका अनुसार तत्काल उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुका साथै भविष्यमा यस्ता विपद्को जोखिम घटाउन घटनाको वास्तविक कारण पहिचान गर्नु आवश्यक छ ।
बाढीका कारण नदी आसपासका बस्ती, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। केही व्यक्ति बेपत्ता भएको विवरणसमेत सार्वजनिक भएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जनाइएको छ ।
बाढीले गोरखाको सेलेरीस्थित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनास्थलमा समेत क्षति पुर्याएको विवरण प्राप्त भएको छ। तर, क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।
ICIMOD का जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक प्रमुख छियाङगोङ झाङका अनुसार पहिरो, नदीको बहावमा हुने परिवर्तन र अस्थिर भिरालो जमिनको एकीकृत अनुगमन आवश्यक छ । हिमाली क्षेत्रमा विकसित हुने यस्ता विपद्ले घटनास्थलभन्दा धेरै तलसम्मका बस्ती र पूर्वाधारलाई प्रभावित पार्न सक्ने भएकाले जोखिमको समग्र मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।
संस्थाले विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना प्रणाली र जोखिममा रहेका समुदायको तयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। साथै, पूर्वाधार निर्माण, पुनःस्थापना तथा पुनर्निर्माणका योजना बनाउँदा पहिरो र नदीको बहावमा हुने परिवर्तनबाट तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई समेत समेट्नुपर्ने जनाएको छ।
बुढीगण्डकीमा आएको बाढीको वास्तविक कारण र घटनाक्रम पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको ICIMOD ले जनाएको छ ।
स्रोत: ICIMOD














