काठमाडौँ । विश्वभर बढ्दो तापक्रमसँगै अत्यधिक गर्मीका लहर (हिटवेभ) ले मानव जीवनको सहनशीलताको सीमा नै पार गर्न थालेको नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिकहरूले हालका वर्षहरूमा भएका केही प्रमुख हिटवेभ घटनाहरूको पुनः विश्लेषण गर्दा, पहिले सुरक्षित मानिएको तापक्रममै पनि मानिसका लागि कठिन हुने अवस्था सिर्जना भएको पाइएको हो ।
अध्ययन अनुसार सन् २००३ देखि २०२४ बीच साउदी अरबको मक्का, थाइल्याण्डको बैंकक, अमेरिकाको फिनिक्स, अष्ट्रेलियाको माउन्ट इसा, पाकिस्तानको लरकाना र स्पेनको सेभिलमा आएका हिटवेभहरूमा मानव सहनशीलताको सीमा नाघ्ने अवस्था देखिएको थियो। ती घटनाहरूमा हजारौँ मानिसको ज्यान गएको भए पनि तापक्रमले परम्परागत रूपमा मानिएको घातकको सीमा नछोए पनि जोखिम अत्यन्त उच्च रहेको पाइएको छ।
वैज्ञानिकहरूका अनुसार यसअघि मानिसले करिब ३५ डिग्री सेल्सियस ‘वेट–बल्ब’ तापक्रममा ६ घण्टासम्म बाँच्न सक्ने मान्यता थियो । तर नयाँ मोडेलले शरीरको ताप नियन्त्रण क्षमता, उमेर र वातावरणीय अवस्थालाई समेट्दा यो सीमा अझ कम तापक्रममै पार हुन सक्ने देखाएको छ ।
विशेषगरी ६५ वर्षभन्दा माथिका वृद्धहरू सबैभन्दा जोखिममा रहेको अध्ययनले देखाएको छ। केही स्थानमा घाममा लामो समय बस्दा मात्र होइन, छायाँमा बसेर पनि बाँच्न नसकिने अवस्था देखिएको छ। पाकिस्तानको लरकाना र अमेरिकाको फिनिक्समा यस्तो अवस्था देखिएको अध्ययनले उल्लेख गरेको छ।
जलवायु परिवर्तनका कारण यस्तो चरम गर्मी भविष्यमा अझ बढ्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । अहिले नै करोडौँ मानिस “अधिक ताप” को जोखिममा परिरहेका छन् र तापक्रम मात्र हेरेर जोखिम मूल्यांकन गर्ने पुरानो पद्धतिले वास्तविक खतरा कम आँक्ने गरेको पनि अध्ययनले देखाएको छ।
विशेषज्ञहरूले छायाँ, चिसो संरचना, पानी तथा अन्य अनुकूलन उपायहरू विस्तार गर्नुपर्नेमा जोड दिएका छन्, अन्यथा आगामी दिनमा अत्यधिक गर्मी मानव स्वास्थ्यका लागि गम्भीर संकट बन्ने चेतावनी दिइएको छ।















