टर्कीमा एलजीबीटीक्यू अधिकारमाथिको दमनबीच कोप–३१ सँगै जलवायु अभियन्ताको प्रदर्शन

टर्कीमा एलजीबीटीक्यू अधिकारमाथिको दमनबीच कोप–३१ सँगै जलवायु अभियन्ताको प्रदर्शन
२०८३ कार्तिक २९, शनिबार (७ घण्टा अघि)

अन्ताल्या । टर्कीमा एलजीबीटीक्यू समुदायमाथि सरकारी दमन बढिरहेका बेला अधिकारकर्मीहरूले कोप–३१ को अवसरमा आयोजित जलवायु न्यायसम्बन्धी प्रदर्शनमा खुलेर सहभागिता जनाएका छन्। शनिबार टर्कीको अन्ताल्यामा आयोजित नागरिक समाजको जलवायु प्रदर्शनमा विश्वभरबाट आएका अभियन्ताहरूले एलजीबीटीक्यू अधिकारकर्मीलाई सुरक्षा घेरा प्रदान गर्दै इन्द्रेणी झन्डासहित प्रदर्शन गरेका हुन्।

गत सेप्टेम्बरदेखि टर्कीमा एलजीबीटीक्यू समुदायका सदस्य तथा उनीहरूको अधिकारका लागि काम गर्ने संस्थाहरूमाथि प्रहरी कारबाही र धरपकड तीव्र भएको छ। प्रहरीले अधिकारकर्मीका घर तथा गैरसरकारी संस्थाका कार्यालयमा छापा मार्दै पक्राउ गर्ने क्रम बढाएको छ।

यस्तो परिस्थितिमा कोप–३१ का लागि अन्ताल्या पुगेका अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय एलजीबीटीक्यू अधिकारकर्मीलाई साथ दिएका हुन्। उनीहरूले प्रदर्शनका क्रममा अधिकारकर्मीहरूलाई सुरक्षा घेरामा राखेर इन्द्रेणी झन्डा फहराउने वातावरण बनाएका थिए।

२० वर्षीया टर्किस एलजीबीटीक्यू अधिकारकर्मी ओजगुरले इन्द्रेणी झन्डा ओढेर प्रदर्शनमा सहभागिता जनाइन्। उनका अनुसार टर्कीमा सार्वजनिक रूपमा यस्तो झन्डा प्रदर्शन गर्नु जोखिमपूर्ण छ र सामान्य अवस्थामा प्रहरीले अनुमति दिने गरेको छैन ।

‘मलाई यो देशमा जेलभित्र बसेजस्तो लाग्छ। म सधैँ भागिरहेको हुन्छु। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान यहाँ केन्द्रित भएकाले हामीले आज यसरी प्रदर्शन गर्न सकेका छौँ,’ उनले भनिन्।

बेरेन नाम बताउने अर्की अधिकारकर्मीले पनि प्रदर्शनमा सहभागी हुन पाउँदा उत्साहित भएको बताइन्। तर, लैङ्गिक पहिचानका कारण पक्राउ परेकी आफ्नी साथी प्रदर्शनमा सहभागी हुन नपाएको उनको भनाइ थियो।

प्रदर्शनका क्रममा टर्किस प्रहरीले व्यापक सुरक्षा व्यवस्था गरेको थियो। प्रदर्शनस्थल आयदिन कान्जा पार्क प्रवेश गर्ने सहभागीहरूको दुईपटकसम्म खानतलासी गरिएको थियो। उनीहरूका झोला जाँच गर्नुका साथै प्रदर्शन मार्गमा फलामका अवरोधक राखेर आवतजावत नियन्त्रण गरिएको थियो। प्रहरीले प्रदर्शनकारीका प्लेकार्डमा लेखिएका नारासमेत जाँच गरेको थियो।

फ्रेन्ड्स अफ द अर्थ इङ्ग्ल्यान्ड, वेल्स एन्ड नर्दन आयरल्यान्डका प्रमुख कार्यकारी असद रहमानले सहभागीहरूलाई राहदानी साथमा राख्न भनिएको र झोलासमेत जाँच गरिएको बताए।

उनका अनुसार टर्कीका नागरिक आन्दोलन र अधिकारकर्मीहरूले अहिले कठिन समयको सामना गरिरहेका छन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय नागरिक समाजले स्थानीय आवाजलाई विश्वसामु पुर्‍याउन सहयोग गर्नु महत्त्वपूर्ण रहेको उनले बताए।

एलजीबीटीक्यू अधिकारकर्मीहरूको सहभागिता सुनिश्चित गर्न प्रदर्शन आयोजकहरूले पूर्वतयारी गरेका थिए। अधिकारकर्मीहरू अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीहरूको सुरक्षा घेराभित्र पुगेपछि मात्रै इन्द्रेणी झन्डा प्रदर्शन गरिएको थियो।

अन्तर्राष्ट्रिय मानव अधिकार महासंघकी परामर्शदाता लुसिया पोस्टेरारोले सुरक्षा निकायबाट कुनै किसिमको दबाब वा हस्तक्षेप नहोस् भनेर अन्तर्राष्ट्रिय संस्थाहरूले एलजीबीटीक्यू अधिकारकर्मीहरूको समूहलाई नजिकबाट निगरानी गरिरहेको बताइन्।

जलवायु न्यायसँगै स्थानीय समुदायका मुद्दा

प्रदर्शनमा एलजीबीटीक्यू अधिकारका अतिरिक्त वातावरण संरक्षण, वन विनाश, जलवायु परिवर्तन, प्लास्टिक आयात र प्रदूषण नियन्त्रणका विषयसमेत उठाइएको थियो।

क्लाइमेट एक्सन नेटवर्क टर्कीकी ओजलेम काटिसोजले स्थानीय समुदायहरू आफ्ना गाउँ, वन र प्राकृतिक स्रोत संरक्षणका लागि संघर्षरत रहेको बताइन्। अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोग उनीहरूका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

प्रदर्शनमा सहभागी अभियन्ताहरूले विभिन्न नारा लगाउँदै, नाचगान गर्दै र विशाल ब्यानर प्रदर्शन गरेका थिए। ‘हामी जीवनको रक्षा गर्छौँ’ लेखिएको ब्यानरसहित जलवायु न्यायको माग गरिएको थियो।

ग्रिनपिसका स्वयंसेवक उफुक अनिल ध्रुवीय भालुको भेषमा प्रदर्शनमा सहभागी भएका थिए। उनले पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको भन्दै विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम गर्नुपर्ने बताए।

टर्कीमा जलवायु कार्यसूची कमजोर रहेको र प्लास्टिक आयात निरन्तर भइरहेको विषयमा ध्यानाकर्षण गराउन आफू प्रदर्शनमा सहभागी भएको उनले बताए। आफ्नी छोरीले हरियाली र तुलनात्मक रूपमा शीतल पृथ्वीमा जीवन बिताउन पाऊन् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो।

इन्डोनेसियाको लोकतान्त्रिक महिला संगठन सेरुनीकी त्रियाना कुर्निया वार्दानीले आफ्नो देशमा महिनौँदेखि जारी वन तथा जमिनमा लागेको डढेलोको विषय उठाउन प्रदर्शनमा सहभागी भएको बताइन्। इन्डोनेसियामा धुवाँ र प्रदूषणका कारण धेरै मानिस प्रभावित भइरहे पनि स्थानीयस्तरमा विरोध प्रदर्शन गर्दा प्रहरीको दुर्व्यवहार र सामाजिक सञ्जालमा अवरोधको सामना गर्नुपरेको उनले बताइन्।

कोप–३१ को आधा समय बित्दा पनि ठोस प्रगति कमजोर

अन्ताल्यामा जारी कोप–३१ जलवायु सम्मेलन आधा अवधि पार गरिसक्दा पनि प्रमुख वार्ताका विषयमा उल्लेखनीय प्रगति हुन नसकेको अभियन्ताहरूले बताएका छन्।

भ्वाइस अफ अरोहाकी युवा सहभागिता प्रमुख अदिति तिवारीले विवाद र चुनौतीका बाबजुद कोप सम्मेलनले विश्वका नेताहरूसमक्ष नागरिकका आवाज पुर्‍याउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताइन्।

‘महत्त्वपूर्ण निर्णय गर्ने विश्वका नेताहरूसमक्ष आफ्ना आवाज पुर्‍याउन सकिने सबैभन्दा प्रभावकारी स्थानमध्ये कोप पनि एक हो,’ उनले भनिन्।

मेक पोल्युटर्स पे अन्तर्राष्ट्रिय गठबन्धनकी सहसंयोजक लुइस हचिन्सले प्रदूषण फैलाउने उद्योग तथा निकायलाई जवाफदेही बनाउन र जलवायु न्याय सुनिश्चित गर्न सरकारहरूमाथि दबाब जारी राख्ने बताइन्।

यसैबीच, सम्मेलनस्थलमा जलवायु वार्ता जारी रहँदा संयुक्त राष्ट्रसंघीय जलवायु प्रमुख साइमन स्टिलले कठिन विषयमा शीघ्र छलफल अघि बढाउन र रणनीतिक ढिलाइ नगर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।

उनले सबै पक्षको सम्झौता र सहमतिबिना सामूहिक सफलता सम्भव नहुने बताएका छन्।

कोप–३१ को अवसरमा आयोजित यस प्रदर्शनले जलवायु संकट र सामाजिक न्यायबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै जलवायु अभियानमा मानव अधिकार, नागरिक स्वतन्त्रता र सीमान्तकृत समुदायको सहभागिताको महत्त्वलाई पुनः चर्चामा ल्याएको छ।

अन्तिम अध्यावधिक: November 14, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    खोजी गर्नुहोस