काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो संकट, विश्वव्यापी तापक्रम वृद्धि तथा जलवायु वित्तको चुनौतीबीच संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) आज सोमबारदेखि टर्कीको अन्ताल्यामा औपचारिक रूपमा सुरु हुँदैछ।
नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनको औपचारिक उद्घाटन सत्र स्थानीय समयअनुसार बिहान १० बजे आयोजना हुँदैछ। सम्मेलनमा विश्वका विभिन्न देशका सरकार प्रमुख, मन्त्री, जलवायु वार्ताकार, वैज्ञानिक, आदिवासी समुदायका प्रतिनिधि, युवा, नागरिक समाज तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
यस वर्षको सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, ऊर्जा संक्रमण, उत्सर्जन कटौती, पारदर्शिता तथा पेरिस सम्झौताको कार्यान्वयन प्रमुख छलफलका विषय रहनेछन्। विशेषगरी जलवायु प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै कार्यान्वयनमुखी परिणाम हासिल गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन्। उनले आज हुने उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारीहरू सहभागी छन्।
यसैबीच, नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको सम्मेलन अन्तर्गत नेपालले हिमाली क्षेत्रको जलवायु संकटलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने तयारी गरेको छ। नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा ‘हिमाली कार्यसूचीको प्रवर्द्धन: हिमनदी, क्रायोस्फियर तथा उत्थानशीलता’ विषयक उच्चस्तरीय कार्यक्रम आयोजना हुँदैछ। उक्त कार्यक्रममा हिमनदी पग्लिने क्रम, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु उत्थानशीलता तथा दिगो वित्तका विषयमा छलफल हुनेछ।
जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका नेपालजस्ता पर्वतीय तथा विकासशील राष्ट्रका लागि कोप–३१ अन्तर्राष्ट्रिय जलवायु न्याय, क्षतिपूर्ति, अनुकूलन वित्त र हिमाली क्षेत्रको संरक्षणका मुद्दा उठाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
विशेषगरी हिमालय क्षेत्रमा बसोबास गर्ने आदिवासी तथा स्थानीय समुदायको परम्परागत ज्ञान, प्रकृतिसँगको सहअस्तित्व र जलवायु अनुकूलनका अभ्यासलाई अन्तर्राष्ट्रिय जलवायु नीतिमा समेट्नुपर्ने आवश्यकता यस सम्मेलनमा थप महत्त्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।
नोभेम्बर २० सम्म सञ्चालन हुने कोप–३१ ले विश्वव्यापी जलवायु प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्न कस्तो प्रगति गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।
















