पटका र आतिशवाजीले चराको बासस्थान जोखिममा

पटका र आतिशवाजीले चराको बासस्थान जोखिममा
२०८३ कार्तिक २५, मंगलबार (१५ सेकेण्ड अघि)

काठमाडौं । दीपावली उज्यालो र खुसीको पर्व हो । तर यही पर्वमा पड्काइने पटाका र आतसबाजीले मानिसलाई मनोरञ्जन दिइरहँदा चराचुरुङ्गीका लागि भने त्रास र जोखिम निम्त्याउने गरेको छ । उपत्यकाका रुख, बगैँचा, खुला क्षेत्र तथा जलाशय आसपास आश्रय लिने चराहरू पटाकाको चर्को आवाज र चम्किलो प्रकाशबाट प्रभावित हुन्छन् । रातिको समयमा अचानक हुने विस्फोटले चराको निद्रा मात्र होइन, उनीहरूको नियमित गतिविधि र सुरक्षित बासस्थानसमेत प्रभावित पार्न सक्छ ।

दीपावलीको रात आकाश उज्यालो बनाउने पटाका र आतसबाजीले राजधानीका चराहरूको शान्त वातावरण खल्बल्याउने जोखिम बढाएको छ । दिनभर आहार खोज्ने र रात परेपछि रुखका हाँगा, झाडी तथा सुरक्षित स्थानमा बास बस्ने चराहरू अचानक पड्किने पटाकाको आवाजले त्रसित हुने गर्छन् । अप्रत्याशित रूपमा सुनिने चर्को आवाज र देखिने तीव्र प्रकाशका कारण चराहरू एक्कासि उड्ने, आफ्नो बासस्थान छाड्ने र सुरक्षित स्थानको खोजीमा भौँतारिने अवस्था आउन सक्छ । पटाकाको असर तत्कालको त्रासमा मात्रै सीमित हुँदैन । रातभर पटकपटक हुने विस्फोटले चराहरूको प्राकृतिक व्यवहारमा समेत अवरोध पुर्याउन सक्छ ।

सामान्य अवस्थामा राति आराम गर्ने चराहरू पटाकाको आवाजपछि निद्राबाट बिउँझिएर उड्न बाध्य हुन सक्छन् । यसले उनीहरूको ऊर्जा खर्च बढाउनुका साथै आहार खोज्ने, आराम गर्ने र प्रजननसँग सम्बन्धित नियमित गतिविधिमा समेत असर पार्न सक्छ । विशेषगरी भँगेरा, परेवा, काग तथा सामूहिक रूपमा रुखमा बास बस्ने चराहरूमा यस्तो प्रभाव देखिन सक्ने अध्ययनहरूले औँल्याएका छन् । सन् २०२३ मा बेलायतको बर्मिङ्घममा गरिएको वैज्ञानिक अध्ययनले दीपावलीलगायतका आतसबाजीका समयमा चराहरू सामान्य अवस्थाभन्दा बढी सङ्ख्यामा र बढी उचाइमा उडेको देखाएको थियो । यसले सहरी क्षेत्रमा समेत आतसबाजीले चराहरूको रात्रीकालीन विश्राममा गम्भीर अवरोध पुर्याउँछ ।

त्यस्तै, पटाकाबाट निस्कने धुवाँ र सूक्ष्म धुलोका कणले पनि चराको स्वास्थ्यमा असर पार्न सक्छन् । विस्फोटपछि हावामा फैलिने विभिन्न रासायनिक पदार्थ र धुलोका कणले वायु प्रदूषण बढाउँछन् । यसले चराको श्वासप्रश्वास प्रणालीमा असर पार्न सक्ने जोखिम रहन्छ । अर्कोतर्फ, पटाकाको आवाजबाट आत्तिएर उड्ने क्रममा चराहरू घरका छाना, बिजुलीका तार तथा अग्ला भवनमा ठोक्किन सक्ने सम्भावना पनि हुन्छ । यसरी क्षणिक मनोरञ्जनका लागि गरिने आतसबाजीले चराको सुरक्षित आश्रय, आराम र दैनिक जीवनमा अवरोध सिर्जना गर्न सक्छ ।

काठमाडौँजस्तो तीव्र सहरीकरण भइरहेको सहरमा चराहरूका लागि प्राकृतिक बासस्थान आफैँमा सीमित हुँदै गएको छ । रुख कटान, खुला क्षेत्रको अभाव, भवन निर्माण र बढ्दो प्रदूषणले चराहरूको आश्रयस्थलमा दबाब सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा पर्वका नाममा हुने अत्यधिक ध्वनि र प्रकाश प्रदूषणले उनीहरूको जीवन थप चुनौतीपूर्ण बनाउन सक्छ । त्यसैले दीपावली मनाउँदा मानवीय खुसीसँगै प्रकृति र अन्य जीवजन्तुको अस्तित्वलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ ।

अन्तिम अध्यावधिक: November 10, 2026
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस