कोप–३१ किन असफल भयो? जलवायु वार्तामा सहमति जुट्न नसक्नुका कारण के हुन्?

कोप–३१ किन असफल भयो? जलवायु वार्तामा सहमति जुट्न नसक्नुका कारण के हुन्?
२०८३ मंसिर ८, मंगलबार (२० घण्टा अघि)

काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) प्रमुख जलवायु सम्झौतामा सहमति जुटाउन असफल भएको छ। करिब दुई सातासम्म चलेको वार्ता निर्धारित समयभन्दा दुई दिन लम्बिँदासमेत देशहरूबीच सहमति कायम हुन नसकेपछि सम्मेलन मुख्य राजनीतिक घोषणापत्रविनै सम्पन्न भएको हो।

टर्की र अस्ट्रेलियाको सहअध्यक्षतामा सम्पन्न सम्मेलनमा विश्वका करिब २०० देश सहभागी थिए। जलवायु संकटको सामना गर्न थप महत्त्वाकांक्षी प्रतिबद्धता, जीवाश्म इन्धनबाट ऊर्जा संक्रमण र जलवायु संकटबाट प्रभावित कमजोर तथा विकासशील राष्ट्रलाई आर्थिक सहयोग उपलब्ध गराउने विषय सम्मेलनका प्रमुख एजेन्डा थिए।

तर, जीवाश्म इन्धन (कोइला, पेट्रोलियम पदार्थ र ग्यास) को प्रयोगबाट बाहिरिने विषयमा देशहरूबीच गहिरो मतभेद देखियो। यही विषय अन्ततः सम्मेलनको मुख्य सम्झौता असफल हुनुको प्रमुख कारण बन्यो।

जीवाश्म इन्धनको विषयमा विवाद

सम्मेलनमा सहभागी १३० भन्दा बढी देशले अन्तिम सम्झौतामा जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने स्पष्ट प्रतिबद्धता समावेश गर्नुपर्ने माग गरेका थिए। तर, साउदी अरेबियासहित केही तेल उत्पादक देशहरूले त्यस्तो स्पष्ट प्रतिबद्धता समावेश गर्न विरोध गरे।

सन् २०२३ मा दुबईमा सम्पन्न कोप–२८ ले पहिलोपटक जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषयमा सहमति गरेको थियो। त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र र थप प्रतिबद्धता कोप–३१ मा अपेक्षा गरिएको थियो।

तर, सम्मेलनको अन्तिम मस्यौदामा जीवाश्म इन्धनबाट संक्रमण गर्ने विषय नै समावेश भएन। यसले युरोपेली संघ (ईयू), बेलायत, पानामा, मार्सल आइल्यान्ड्सलगायतका देशहरूको असन्तुष्टि बढायो।

ईयूका वातावरणमन्त्री डाराग ओब्रायनले जीवाश्म इन्धनको उल्लेखसमेत नभएको सम्झौता स्वीकार गर्न नसकिने बताएका थिए। उनका अनुसार यस्तो सम्झौताले जलवायु विज्ञानले देखाएको जोखिम र विश्वले गर्नुपर्ने आवश्यक कार्यबीचको दूरी अझ बढाउनेछ।

जलवायु वित्तमा विकसित र विकासशील देशबीच मतभेद

सम्मेलन असफल हुनुको अर्को प्रमुख कारण जलवायु वित्तसम्बन्धी विवाद थियो। जलवायु परिवर्तनका कारण बढी प्रभावित विकासशील तथा कमजोर देशहरूले अनुकूलन, हानि तथा नोक्सानी र जलवायु उत्थानशीलताका लागि विकसित देशबाट थप आर्थिक सहयोगको माग गरेका थिए।

तर, विकसित देशहरूले आवश्यक वित्तीय प्रतिबद्धता पूरा गर्ने विषयमा पर्याप्त स्पष्टता र इच्छाशक्ति नदेखाएको भन्दै विकासशील देशहरूले असन्तुष्टि व्यक्त गरे।

अफ्रिका, साना टापु राष्ट्र तथा अति कम विकसित देशहरूले जलवायु संकटको सबैभन्दा ठूलो असर आफूहरूले भोगिरहेको अवस्थामा पर्याप्त आर्थिक सहयोग नपाउनु अन्यायपूर्ण भएको बताएका थिए।

अफ्रिकाको थिंक ट्यांक पावर सिफ्ट अफ्रिकाका निर्देशक मोहम्मद अडोले सम्मेलनमा जलवायु वित्त, अनुकूलन र जीवाश्म इन्धनबाट संक्रमणका विषयमा प्रगति हुनुपर्नेमा पुराना प्रतिबद्धता जोगाउनै संघर्ष गर्नुपरेको टिप्पणी गरेका थिए।

कार्बन क्याप्चर प्रविधिमा पनि विवाद

कार्बन क्याप्चर एन्ड स्टोरेज (सीसीएस) प्रविधिको भूमिकालाई लिएर पनि देशहरूबीच मतभेद देखियो।

यस प्रविधिमार्फत उद्योग तथा ऊर्जा उत्पादनबाट निस्कने कार्बनडाइअक्साइडलाई वायुमण्डलमा पुग्नुअघि संकलन गरी भण्डारण गरिन्छ।

साउदी अरेबियालगायतका देशहरूले यस प्रविधिलाई जलवायु समाधानको महत्त्वपूर्ण विकल्पका रूपमा प्रस्तुत गरेका थिए। तर, केही देश तथा जलवायु अभियन्ताहरूले यसले जीवाश्म इन्धनको निरन्तर प्रयोगलाई प्रोत्साहन गर्न सक्ने भन्दै विरोध गरेका थिए।

कोप सम्मेलनको निर्णय प्रक्रियामाथि प्रश्न

कोप–३१ को असफलताले संयुक्त राष्ट्रसंघीय जलवायु वार्ताको निर्णय प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

कोप सम्मेलनमा महत्त्वपूर्ण निर्णयहरू सामान्यतः सबै सहभागी देशको सहमतिमा पारित हुनुपर्ने व्यवस्था छ। यही सहमतिमा आधारित प्रक्रियाका कारण केही देशको असहमतिले पनि मुख्य सम्झौता पारित हुन नसक्ने अवस्था सिर्जना भयो।

जलवायु सम्मेलनको निर्णय प्रक्रिया सुधार गर्नुपर्ने आवाज यसपटक थप बलियो बनेको छ। केही नेताहरूले सीमित देशको असहमतिका कारण विश्वव्यापी जलवायु प्रतिबद्धता अवरुद्ध हुने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

यद्यपि, सहमतिमा आधारित प्रणालीले साना तथा कमजोर राष्ट्रको आवाजलाई पनि महत्त्व दिने भएकाले यसको विकल्प खोज्दा ती देशको प्रतिनिधित्व कमजोर हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

मुख्य सम्झौता असफल भए पनि केही निर्णय पारित

मुख्य राजनीतिक सम्झौता पारित हुन नसके पनि सम्मेलन पूर्ण रूपमा निष्कर्षविहीन भने रहेन। न्यायोचित ऊर्जा संक्रमण (जस्ट ट्रान्जिसन), विद्युतीकरण, जलवायु उत्थानशीलता र लगानीसम्बन्धी केही निर्णय तथा पहलहरू अघि बढेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनमा सहमति जुट्न नसकेकोमा गहिरो निराशा व्यक्त गरेका छन्। उनले वार्तामा सहमति नजुटे पनि जलवायु विज्ञानले देखाएको संकटमा कुनै अस्पष्टता नरहेको बताएका छन्।

उनका अनुसार जीवाश्म इन्धन नै विश्वव्यापी तापक्रम वृद्धिको प्रमुख कारण भएकाले त्यसबाट संक्रमणलाई तीव्र बनाउन, उत्सर्जन घटाउन र जलवायु वित्त उपलब्ध गराउन आवश्यक छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायका कार्यकारी सचिव साइमन स्टिलले पनि अन्ताल्याको असफलताबाट पाठ सिक्दै आगामी सम्मेलनमा थप प्रगति गर्नुपर्ने बताएका छन्।

अब आगामी कोप–३२ इथियोपियाको अदिस अबाबामा आयोजना हुनेछ। कोप–३१ मा टुंगो लाग्न नसकेका जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त र जलवायु संकटबाट प्रभावित देशलाई सहयोग गर्ने विषय आगामी सम्मेलनका लागि पनि प्रमुख चुनौतीका रूपमा रहनेछन्।

अन्तिम अध्यावधिक: November 24, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस