काठमाडौँ । टर्कीको अन्ताल्यामा ३१ औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) जारी रहँदा, काठमाडौँस्थित ड्रुप अमिताभ पर्वतमा आयोजना गरिएको ११ औँ वार्षिक ड्रुपका काउन्सिलमा सयौँ बौद्ध गुरु, भिक्षु, आनी र अनुयायीहरू भेला भई हिमालयी क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको जलवायु परिवर्तनको संकटबारे गम्भीर छलफल गरेका छन् ।
काठमाडौँमा आयोजित यो भेला र टर्कीमा भइरहेको कोप ३१ सम्मेलनको स्वरूप र थलो फरक भए तापनि दुवैको मुख्य सरोकार भने पर्वतीय समुदायसम्म जलवायु प्रतिबद्धतालाई व्यावहारिक रूपमा पुर्याउनु रहेको छ ।
हिमालयी क्षेत्रमा जलवायु परिवर्तनको असर कत्तिको भयानक भइसकेको छ भन्ने कुरा हालैका विपत्तिहरूले स्पष्ट पार्छन् । गत १० भदौंमा नेपाल–चीन सीमा नजिकै रसुवा जिल्लास्थित भोटेकोशी र त्रिशूली उपत्यकामा आएको विनाशकारी बाढीले पुल, सडक तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको थियो ।
कैलाश मानसरोवर यात्रामा निस्किएका तीर्थयात्रीहरूसमेत यसबाट प्रभावित भएका थिए । यस घटनामा सयौँ मानिसले ज्यान गुमाए भने धेरै बेपत्ता भए । इसिमोडका वैज्ञानिकहरूका अनुसार यो बाढी सम्भवतः हिउँ र चट्टानको हिमपहिरोका कारण आएको थियो ।
त्यसैगरी, भुटानमा पनि गत अक्टोबर २९ को राति गासाको लायास्थित सिन्ताफु हिमताल फुटेर आएको बाढीले मो छु नदी किनारका क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो। बाढीले भुटानको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्छाछु’ का पूर्वाधारहरू र पुनाखा–गासा राजमार्गको भाग बगाएको थियो । समयमै पूर्वसूचना पाएर बस्ती खाली गराइएकाले मानवीय क्षति हुन नपाए पनि कम्तीमा १२८ वटा चौँरी र १२ वटा घोडा मरेका थिए ।
इसिमोडको अनुमान अनुसार उक्त हिमतालमा ६० देखि ७० लाख घनमिटर पानी सञ्चित थियो । यो बाढीका कारण भारतको सीमावर्ती क्षेत्रसम्म सतर्कता जारी गरी हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । गासा त्छाछु पाँच वर्षभित्र दोस्रो पटक बाढीबाट ध्वस्त भएको हो; यसअघि २०२१ अगस्टको बाढीले पनि यहाँका पोखरी, पुल र संरचनाहरू बगाएको थियो ।
यसबाहेक, भुटानको लुनाना क्षेत्रमा थोर्थोमी र राफस्ट्रेङ तालहरूलाई छुट्याउने कमजोर मोरैन बाँध भत्किने खतरा बढेको छ । यदि यो बाँध भत्किएमा ५ करोड ३० लाख घनमिटर (५३ मिलियन घनमिटर) पानी बग्ने अनुमान छ, जुन सिन्ताफु बाढीको परिमाणभन्दा करिब आठ गुणा बढी हो ।
कोप ३१ सम्मेलन र पर्वतीय राष्ट्रहरूको संयुक्त पहल
जलवायु परिवर्तनको यो गम्भीर चुनौतीलाई सम्बोधन गर्न नेपाल र भुटानले कोप ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी समर्पित एजेण्डा प्रस्ताव गरेका छन् । यस अन्तर्गत भू–उपग्रह तथ्याङ्क आदानप्रदान, हिमतालहरूको नियमित अनुगमन र सीमापार पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने माग गरिएको छ ।
“उच्च उचाइ, उच्च जोखिमः जलवायुको अग्रपङ्क्तिमा पर्वतीय राष्ट्रहरू“ शीर्षकमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, भुटान, अन्तर्राष्ट्रिय क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ र इसिमोडका वरिष्ठ अधिकारीहरूले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको र १.५ डिग्री सेल्सियसको सीमा हातबाट उम्किँदै गएको चेतावनी दिएका छन् ।
हिन्दुकुश हिमालय क्षेत्र, जसलाई ‘एसियाको वाटर टावर’ पनि भनिन्छ, आठ देशहरूमा फैलिएको छ । यस क्षेत्रका हिउँ र हिमनदीहरूले करोडौँ मानिसलाई पिउने पानी, कृषि र ऊर्जा उपलब्ध गराउँछन् । तर, बढ्दो तापक्रम, वर्षाको परिवर्तन र हिमनदीहरूको तीव्र विनाशले यो प्रणालीमा गम्भीर दबाब सिर्जना गरेको छ ।
काठमाडौँको कार्यक्रममा ड्रुपका काग्यु सम्प्रदायका आध्यात्मिक नेता तथा रेजेन्ट हिज एमिनेन्स ड्रुपका थुक्स्ये रिन्पोछेले प्रकृति र वातावरण संरक्षण बौद्ध दर्शनको मूल मर्म भएको बताए । ‘प्रकृति माताको ख्याल राख्नु बौद्ध अभ्यासको सबैभन्दा ठूलो रूप हो,’ उनले भने, ‘करुणा भनेको केवल प्रार्थना र ध्यानमा मात्र सीमित नभई वातावरणको सम्मान गर्ने र सबै जीवको हेरचाह गर्ने हाम्रा दैनिक कार्यहरूमा प्रकट हुनुपर्छ ।’
थुक्स्ये रिन्पोछे र इसिमोडका वरिष्ठ खर्क/चरण क्षेत्र विज्ञ डा. ताशी दोर्जीले “द चेन्जिङ हिमालयन क्लाइमेटः ब्रिजिङ साइन्स, बुद्धिजम एण्ड रेजिलेन्स“ शीर्षकको छलफल सत्रमा भाग लिएका थिए । डा. दोर्जीका अनुसार विज्ञानले जोखिमको अनुमान गर्न मद्दत गर्छ भने बौद्ध ज्ञानले हाम्रो प्रतिक्रियालाई मार्गदर्शन गर्छ ।
सामाजिक सेवा र राहत सहयोग
ड्रुपका सम्प्रदायको सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका ‘कुङ फु आनीहरू’ ले काठमाडौँ उपत्यकाको डाँडामा रहेको ड्रुप अमिताभ पर्वत आश्रममा यो सम्मेलनको आतिथ्यता गरेका छन् । यी आनीहरू मार्शल आर्टका साथै पर्यावरण संरक्षण, लैङ्गिक समानता र विपद् राहतमा सक्रिय छन् ।
काउन्सिलको उद्घाटनका अवसरमा कुङ फु आनीहरूले भियतनाम बौद्ध संघ (जसको नेतृत्व भेनेरेबल थिच थान फोङले गरेका थिए) र ‘लाइभ टु लभ’ सँगको सहकार्यमा नेपालका बाढीपीडितहरूका लागि १ करोड ५ लाख नेपाली रुपैयाँ (लगभग १ लाख अमेरिकी डलर) राहत कोषमा प्रदान गरेका छन् ।
संसारभरि जलवायु परिवर्तनका नीतिहरूमा बहस भइरहँदा काठमाडौँमा आयोजित यो भेलाले वातावरण संरक्षणको सुरुआत स्थानीय समुदाय, व्यक्तिगत व्यवहार र प्राकृतिक जगत्प्रतिको जिम्मेवारीबाट हुनुपर्छ भन्ने सन्देश दिएको छ ।

















