विपद् आउनुअघि नै जोखिम न्यूनीकरण गर्नुपर्छ : यूएनडीपी आवासीय प्रतिनिधि योकोसुका

विपद् आउनुअघि नै जोखिम न्यूनीकरण गर्नुपर्छ : यूएनडीपी आवासीय प्रतिनिधि योकोसुका
२०८३ मंसिर ९, बुधबार (२ घण्टा अघि)

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्को क्षति न्यूनीकरण गर्न विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापनमा जोड दिनुपर्ने बताएकी छन् ।

उनले विपद् आएपछि उद्धार तथा राहतमा केन्द्रित हुने परम्परागत अभ्यासबाट अघि बढेर जोखिमको पूर्वानुमान, न्यूनीकरण र विकासका पूर्वाधार तथा लगानीको संरक्षण गर्ने प्रणाली विकास गर्नुपर्ने बताएकी हुन् ।

नेपाल सरकार र यूएनडीपीको सहकार्यमा सञ्चालन हुन लागेको ४९.९४ मिलियन अमेरिकी डलरको ‘जीएलओएफ सञ्जीवनी परियोजना’ सम्बन्धमा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रारम्भिक कार्यशालामा उनले जलवायुजन्य जोखिमलाई समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

“करिब दुई महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा देखिएका विनाशकारी बाढीले जलवायुजन्य चरम जोखिम कति छिटो मानवीय तथा आर्थिक विपद्मा परिणत हुन सक्छ भन्ने स्मरण गराएका छन् । यसले अर्को विपद्को प्रतीक्षा गरेर बस्न हुँदैन भन्ने महत्वपूर्ण सन्देश दिएको छ,” उनले भनिन् ।

योकोसुकाले जीएलओएफ सञ्जीवनी परियोजनाको मुख्य रणनीतिक महत्व नै विपद्पछिको प्रतिक्रियात्मक कार्यशैलीबाट विपद्अघिको जोखिम न्यूनीकरणतर्फ अघि बढ्नु रहेको उल्लेख गिरन् । परियोजनाले जोखिमको पूर्वानुमान गर्ने, त्यसलाई घटाउने र विपद् आउनुअघि नै विकासका लगानीको संरक्षण गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने र उच्च हिमाली क्षेत्रमा रहेका हिमताल विस्तार हुने क्रमले हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) को जोखिम बढाइरहेको छ । यस्तो जोखिमबाट हिमाली समुदाय र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले जीएलओएफ सञ्जीवनी परियोजना अघि बढाइएको हो ।

परियोजनाको कुल लागत ४९.९४ मिलियन अमेरिकी डलर रहेको छ । यसमध्ये हरित जलवायु कोष (जीसीएफ) को ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारको ११.३२ मिलियन, यूएनडीपीको २.१४ मिलियन र निजी क्षेत्रको ०.३२ मिलियन अमेरिकी डलर सहवित्तीयकरण रहनेछ ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाबाट तीन लाख ८५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । प्रत्यक्ष लाभान्वितमध्ये ५५ प्रतिशत महिला रहनेछन् भने नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब २० लाख नागरिकले अप्रत्यक्ष रूपमा सुरक्षा लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

परियोजनाअन्तर्गत दोना, लुम्दिङ छो र तल्लो बरुण हिमतालको पानीको सतह तीन–तीन मिटर तथा हङ्गु–२ हिमतालको सतह एक मिटर घटाइनेछ । यसका साथै जलवायु जोखिमसम्बन्धी सूचना प्रणाली, जलविज्ञान तथा मौसम अनुगमन र पूर्वसूचना प्रणाली सुदृढ गरिनेछ । नदी तथा जलाधार क्षेत्रमा प्रकृतिमा आधारित समाधान र बाढीको जोखिम न्यूनीकरण गर्ने संरचनासमेत विकास गरिने परियोजनाले जनाएको छ ।

अन्तिम अध्यावधिक: November 25, 2026
English
  • ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस